म्याद थप नहुँदा कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मीको विदाई, हेल्थ डेस्क बन्द

सल्यान, ४ साउन ।
कोरोना विरुद्धको लडाइमा चौँविसै घण्टा खटिएका स्वास्थ्यकर्मीहरुलाई सल्यानको कपुरकोटबाट विदाई गरिएको छ ।

कर्णालीको दोश्रो ठूलो नाका कपुरकोट स्थित हेल्थ डेस्कमा खटाइएका पाँच जना स्वास्थ्यकर्मीहरुको करार सम्झौता सकिएपछी आइतबार गाउँपालिकाले विदाई गरेको हो ।

कपुरकोट नाकामा पाँच जना एच ए लाई कर्णाली प्रदेश सरकारले गएको चैत्र महिनादेखि खटाएको थियो । तर उनीहरुको म्याद असार मसान्तमा सकिएपनी प्रदेश सरकारले निरन्तरता दिने सम्बन्धमा कुनै निर्णय गरेको छैन । कपुरकोट स्थित हेल्थ डेस्क पनि बन्द भएको छ ।

विदाई कार्यक्रमको अवसरमा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले समग्र प्रदेशलाइ कोरोना भाइरस नियन्त्रण वाहिर जान नदिन स्वास्थ्यकर्मीहरुले अतुलनीय योगदान गरेको बताए ।

कोरोनाको जोखिम अझै बढ्न सक्ने भन्दै स्वास्थयकर्मीहरुलाई निरन्तरता दिँदै समुदाय स्तरमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, स्वास्थ्य शाखा प्रमुख अरुण दाहाल, कोभिड–१९ का फोकल पर्सन देवेन्द्र कुमार सेन लगाएतले स्थानीय सरकारसंगको समन्वयमा कोरोना विरुद्ध स्वास्थयकर्मीहरुले प्रभावकारी काम गरेको बताएका थिए ।

विदाई भएर जान लागेका स्वास्थयकर्मी चरित्र उपाध्यायले आफुहरु हेल्थ डेस्कमा खटिसकेपछी हेल्थ डेस्कको ब्यवस्थापन, आफुहरुको बसाई देखि आफुहरुको मनोवल बढाउन कपुरकोट गाउँपालिकाले ठूलो साथ, सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

<