निर्वाचनको आन्तरिक तयारी पूरा, २१ गते मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं, ७ फागुन ।

सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको निर्वाचनको आन्तरिक तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि आगामी २१ गते शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको समेत बताएका छन् ।

शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो चुनावका लागि आन्तरिक तयारी पूरा गरेको जानकारी दिएका हुन् ।

फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिनाका साथै देशभरिका मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने पनि उनले बताएका छन् ।

चुनाव सामग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरूको खरिद योजना तयार गरिएको बताएका छन् ।

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम २०१५ साल फागुन ७ गते मतदाताहरूले आम चुनावमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै २०७३ सालमा निर्णय गरी फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस

<