आफन्तले बुझे भागरथीको शव

बैतडी, ७ फागुन ।
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भागरथीका आफन्तले शुक्रबार शव बुझेका छन् ।

माघ २२ गते पालिकाकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वनमाराको झारीमा उनको शव भेटिएको थियो । २४ गते शवको पोस्टमाटर्म भए पनि घट्नाका दोषी पत्ता नलागुन्जेल शव नउठाउने भन्दै अस्पतालमै रहेको थियो ।

यही बुधबार प्रहरीले घटनामा संलग्न भएको भन्दै उनकै भाइ नाता पर्ने छिमेकी १६ वर्षका एक किशोरलाई सार्वजनिक गरेको थियो ।

अहिलेसम्मको अनुसन्धान र अभियुक्तले दिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले दाबी गरेको छ । आफन्त भएकैले यो घटनामा अरूको पनि संलग्नता भएको आशंका गर्दै परिवारले बिहीबारसम्म पनि शव बुझेका थिएनन् ।

अहिलेसम्मको प्रहरीका प्रमाण र अभियुक्तले दिएको बयानमा अहिलेको अभियुक्त दोषी देखिएकाले शव बुझेको मृतकका काका शिवराज भट्टले बताए । अबको अनुसन्धान पनि निष्पक्ष हुनुपर्ने उनले बताए । प्रशासनसँगको सहमतिमा शव बुझेर महाकाली नदीमा दाहसंस्कारको तयारी गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

<