विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, ७ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन् ।

शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे।

उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन्। ओलीले सरकारले भ्रष्टाचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए।

यस्तै उनले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश अपरिहार्य भएको बताएका छन्। शान्तिपुर्ण लोकतान्त्रिक प्रणालीभन्दा अर्को कुनै विकल्प नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतातर्फको यात्रामा देश अगाडि बढेको बताए।

शहिदहरुको वलिदान र जनताको संघर्षबाट प्राप्त लोकतन्त्रलाई अलमलमा पार्ने कसैको प्रयास पनि सफल नहुने प्रधानमन्त्रीले स्पष्ट गरे। बैशाख १७ र २७ मा निर्धारण गरिएको मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न सबै निकायलाई आह्वान गरे।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु,सांसदहरु, कूटनितिक नियोगका प्रमुखहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।

नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायतका विभिन्न संघस्थाले मार्चपास, कवाज, व्याण्ड तथा विशेष झाँकीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<