धेरै पशुपतिहरुको खाँचो छ ।

यतिवेला गायक पशुपति शर्मा खुबै चर्चामा छन् । सडकदेखि सदनसम्म र झुपडीदेखि दरवार सम्मै पशुपति शर्माको चर्चा छ । सवैलाई थाहा छ, साँचो कुरा तितो हुन्छ । साँचो कुरा सम्बन्धित व्यक्ति, निकाय वा सरकार कसैलाई पनि मन पर्दैन । अहिले पनि त्यस्तै भएको छ, एउटा गाएकले गाएको गीत सरकारले पचाउन सकेन । तर हिजो आज लुकाउन खोजेको कुरा झनै बढी प्रचार हुन्छ । गोप्य कुरामा मानिसहरु अँझ बढी चासो राख्छन् । एकातिर नागरिकहरुको चासो र अर्कोतिर सञ्चार प्रविधिले एकैछिन विश्वभर प्रचार बनाईदिन्छ । पशुपति शर्माले गीतमा भनेजस्तो सवै त्यस्तै छ भन्न खोजेको होइन, तर नेपालको सन्दर्भमा उनले गाएको गीत अनुसार धेरै कुराहरु मिल्न जान्छ । जब यथार्थ कुराहरु बाहिर आउन थाल्छन्, दोषि, अपराधीहरु आत्तिन्छन्, छटपटाउँछन् । गीत अनुसार आफ्ना गतिविधि भएमा जनतामा झनै प्रचार प्रसार भई बद्नाम हुने डरले दोषिहरु जति सक्यो ढाकछोप गर्ने प्रयन्न गर्दछन् ।
मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ । स्थानीय सरकारमा जब गाडि, मोटर, एम्बुलेन्स्, स्काभेटर, महंगा फर्निचर लगायतका उपभोग्य सामग्री खरिद गर्ने अधिकार दिईयो, त्यसपछि त एति धेरै खर्च गरिएको छ  कि त्यसको हिसाब किताबै राख्न गाह्रो छ । जनप्रतिनिधि डोजरमालिक बन्न थालेका छन् । यदि डोजरै नभएपनि डोजरले गरेको कामको हिसाव विवरण जनप्रतिनिधिले नै राख्ने गरेको र आफूखुशि गर्ने गरेको गुनासो बढ्न थालेको छ । सबै भ्रष्टारमा लिप्त छन् भन्न खोजिएको होइन, तर कतै न कतैबाट इमान्दार कर्मचारी र ईमान्दार नेतृत्व पनि मुछिने अवस्था छ । अँझ साँच्चीकै भन्नुपर्दा कतिपय स्थानीय सरकारहरुमा नीतिगत र विधिवतरुपमै भ्रष्टाचार बढेको छ । मन मिल्ने कार्यपालिका सदस्यहरुको आड्मा विधिवतरुपमै  भ्रष्टाचार छ । यसरी भएको गलत क्रियाकलाप जनताले थाहा पाएपछि बरवाद हुन्छ भनेर  नै अनेक किसिमबाट ढाकछोपको प्रयत्न भईरहेको छ । जसका हातमा कलम र निर्णय गर्ने अधिकार रहन्छ, उसैबाट गलत काम कुराहर भईरहेका छन् ।
अहिले पनि कहाँ कहाँ भ्रष्टाचार छ, क कसले भ्रष्टाचार गर्छन् र कुन कुन शीर्षकमा भ्रष्टाचार भर्इृरहेको छ भन्ने कुरा जनतालाई पनि थाहा छ, नेता कार्यकर्तालाई पनि थाहा छ र सरकारलाई पनि थाहा छ ।  तर कोहि पनि वास्तविक कुरा गर्न चाहदैन् । सक्नेले जति पनि लुट्न सक्ने देश नै नेपाल हो भनुपर्ने अवस्था हो । पशुपति शर्माको गीतले पनि त्यहि भन्छ, जति सक्छस् लुट कान्छा, जति सक्छस् लुट । अरुदेशमा पाईदैन , नेपालमा नै हो छुट भनेर व्यंग्य गरिएको छ । जुन व्यंग्य हो, त्यो व्यंग्यबाट सरकार नै आत्तिएको छ । अतः यो देश मा साँचो काम कुरा गर्नेभन्दा जालझेल, छलकपक र बेईमानी गर्नेहरु बढेका छन् । सिंगो मुलुक भ्रष्टाचारले थला परेको छ । गरिबहरु झन झन गरिब छन् र धनीहरु झन झन धनी बन्ने व्यवस्था नेपालको छ । तर सम्पन्न देश वा विदेशमा यस प्रकारको विकृति, विसंगति, भ्रष्टाचार र अन्यायका कुराहरु निकै कम हुन्छन् । जब सरकारले पशुपतिको गीतमाथी रोक लगाउन थाल्यो, तब झनै सरकारमाथि प्रश्न उठ्न थालेको छ । अतः नेपालको अहिलेको प्रमुख समस्या भ्रष्टाचार न्यूनिकरणका लागि वा भ्रष्टाचारीहरुको विरुद्धमा देशभर जनजागरण ल्याउन सयौं पशुपति अँझ पनि जन्मिन आवश्यक रहेको जनताले महशुस गरेका छन ।

प्रतिक्रिया दिनुहोस

<