कुमाख गाउँपालिकाले गर्यो, सार्वजनिक सुनुवाई

 

सल्यानको कुमाख गाउँपालिकामा अर्धवार्षिक समीक्षासहित सार्वजनिक सुनवाई कार्यक्रम आइतवार गाउँपालिका केन्द्र रागेचौरमा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र कुमाख मिडिया ग्रुप प्रा.लि.को सहयोगमा उज्यालो सञ्चार केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।

प्रशासकीय प्रमुख विनोद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विभिन्न खालका चुनौति र समस्याहरुबीच पनि गाउँपालिकाले महत्वपूर्ण काम सम्पन्न गरेको र पहिलाको तुलनामा अहिले गाउँपालिकाले सवै क्षेत्रमा सुधार गरेको जानकारी दिएका थिए । गाउँपालिकाले यस आ.ब.मा हालसम्म सम्पन्न गरेका क्रियाकलापहरु, सेवा प्रवाहको अवस्था, बजेट खर्चको अवस्था र जनताका चासो, समस्या र गुनासा जस्ता विषयवस्तुहरुको बारेमा छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण रेडियो तहल्काका सञ्चालक तथा स्टेशन म्यानेजर डिल्लीराज रावतले गरेका थिए ।

चालु आ.ब.को यस अवधिमा गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गरेको,  व्यवसायिक तरकारी खेतीमा जोड दिएको, पशुसेवातर्फ भैंसिलाई सुत्केरी भत्ता, पशु स्वास्थ्य शिविर लगायतका महत्वपूर्ण काम गरेको, शिक्षातर्फ शैक्षिक क्यालेन्डर बनाई सोहि बमोजिम शैक्षिक क्रियाकलापमा जोड दिने प्रयत्न गरेको, स्वयंसेवक शिक्षक व्यवस्थापन र दरबन्दी मिलानका कामहरु गर्ने गरेको, स्वास्थ्यतर्फ १० हजार बढिले स्वास्थ्य सेवा लिएको, सामुदायिक स्वास्थ्यकेन्द्र सञ्चालन गरेको, बाढि पहिरोको विपदमा परेका १३ जनालाई राहत दिएको, वडा कार्यालयको भवन निर्माण शुरु गरेको, विद्युत तथा ईन्टरनेट जडानको पहल गरेको, गाउँपालिका जोड्ने ५ कि.मी. बाटो निर्माण गरेको, योजना कार्यान्वयनसम्बन्धि उपभोक्ताहरुलाई समयमै क्षमता विकास तालिम सञ्चालन गरेको, सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नेहरुको विवरण अनलाईनमा इन्ट्री गर्न थालेको जस्ता महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताएका थिए ।

सहभागीहरुबाट त्यति धेरै प्रश्नहरु नआएको अवस्था थियो भने आएका प्रश्नहरु पनि सुझबुझको कमिको कारण आएको महशस् सहभागीहरुलाई भएको थियो । महिलाहरुको उपस्थिति र सक्रियता भने न्यून थियो । गाउँपालिकाको प्रगति प्रतिवेदन अनुसार राजश्व निकै कम उठेको जानकारी गराईएको थियो ।

त्यसैगरी प्रथम चौमाशिकमा खासै काम नभएको, दोस्रो चौमाशिक सुरु हुनेवेला कामको सम्झौता भई कामको शूरुवात मात्र हुने अवस्थाका कारण बजेट खर्चमा भने प्रगति नभएको बताईएको छ । चालु आ.ब.को पहिलो सार्वजनिक सुनुवाईसम्म आईपुग्दा चालु कार्यक्रम २४.९ प्रतिशत र पूँजिगत कार्यक्रम १४.७ प्रतिशत मात्र खर्च भएको जानकारी गराईएको थियो । गाउँपालिकाको प्रतिवेदन अनुसार रोजगारी श्रृजना गर्न नसकेको, गुणस्तरीय जनशक्ति उत्पादनमा कठिनाई भएको, विकासमा जनसहभागिता र निजीक्षेत्रको लगानि पनि खासै प्रभावकारी नभएको उल्लेख गरिएको छ । त्यस्तै भौगोलिक विकट्ता, साधन श्रोतको कमी र दक्ष जनशक्तिको अभावले लक्ष्यमा पुग्न कठिनाई रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले रोजगारी श्रृजना नभैरहेको, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारबाट हुनुपर्नेजति कामहरु नभैरहेको जस्ता कुराहरु उठेका थिए । बाह्रै महिना यातायात चल्ने बनाउन पहल गर्नुपर्ने, उत्पादित वस्तुको बजारीकरणमा पहल गर्नुपर्ने माग स्थानीयहरु साधारणले गरेका थिए । कुराहरु गाउँपालिकाले अँझ बढि चासोका साथ हेर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ, सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माले जनता सचेत नहुँदासम्म लक्ष्य बमोजिम विकासले गति लिन नसक्ने बताए । त्यसैगरी जनता र स्थानीय सरकारबीच दुरी बढेको महशुस भएको भन्दै आगामी दिनमा दुरी नजिक बनाउनुपर्ने र मात्र गाउँपालिकाले लक्ष्य बमोजिम अगाडि बढ्न सक्ने बताएका थिए ।

उपस्थित सर्वसाधारणहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रशासकीय प्रमुख विनोद अधिकारीले आफ्नो र गाउँपालिकाको तर्फबाट कुमाख गाउँपालिकाको विकास र समृद्धिका लागि निकै मेहनत गरिरहेको, निस्वार्थ किसिमले काम गरेको, आफ्नो मातहतका कर्मचारीहरुबाट समेत यदि गलत कामहरु भएको भए कार्यालयमा आएर गुनासो गर्न र उजुरी गर्न पाउने अधिकार रहेको बताएका थिए । त्यस्तै गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशिले कुमाख गाउँपालिकाको विकासका लागि सवैप्रकारले लागि परेको बताए ।

त्यस्तै अध्यक्ष दिलमाया बुढाले कुमाख गाउँपालिकामा निर्वाचित भएर आएको छोटो समयमा नै आफूहरुले महत्वपूर्ण काम गरेको र जनताले साथ दिएमा अँझ धेरै कामहरु गर्न सकिने पनि बताईन । कार्यक्रममा अन्य विभिन्न वडाका वडाध्यक्षहरु, शिक्षक, पत्रकार, बुद्धिजीवी, विभिन्न वडाबाट आएका सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<