आजदेखि अधिकमास अर्थात् मलमास शुरू हुँदै


काठमाडौं, २ असोज ।
आजदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदैछ । आज अपरान्ह ४ बजेर ५९ मिनेटमा सुरु हुने अधिकमास असोज ३० गते राति १ बजेर ५३ मिनेटमा सकिनेछ।

हिन्दु परम्परा अनुसार यस अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए।

अधिकमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराण वाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ।

प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी रहेका र अधिक मास अर्थात् मलमासको स्वामी नभएका कारण अधिकमासमा सम्पूर्ण शुभ कार्य तथा देव एवं पितृ कार्य वर्जित गरिएको पौराणिक कथन छ।

गौतमले घरमा गरिने नियमित पूजा पाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने बताए। अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ।

सूर्यमान अनुसार वर्षमा ३ सय ६५ दिन र चन्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ । यसरी हेर्दा सूर्य र चन्द्रमानबीच बर्षमा लगभग ११ दिनको फरक आउँछ ।

तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यहि एक महिनालाई अधिकमास भन्ने गरिएको हो ।

अधिकमास पर्ने वर्षमा सूर्यमान अनुसार वर्षमा १२ वटै महिना रहेपनि चन्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ ।

सूर्य र चन्द्रमाको गति मिलाउनका लागि मलमास पर्ने गर्दछ । मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<