अस्तव्यस्त छ देश

अहिले देश पुरै अस्तव्यस्त बनेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरु ढाल्ने, ढलाउने कुुराहरु चलिरहेका छन् । कोहि भन्दैछन्, अब केपी ओलिको सरकारको आयु सकिसक्यो । कोहि भन्दैछन्, अरुभन्दा केपी नै ठिक छन्, सरकार ढल्दैन । अहिले प्रदेशतिरका कुरा पनि तिनै हुन् ।

भर्खर मात्र कर्णाली प्रदेशमा सरकार परिवर्तन गर्ने कुरा चलिरहेको छ । एमालेबाट निर्वाचित संसद्हरु पनि दुुइ भागमा बाँडिएका कारण झनै अस्तव्यस्तताको अवस्था छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने, आफ्नो तर्फका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने कुरा केपी ओली पक्षका संसद्हरुले गरिरहेका छन् ।

उता एमालेबाटै माधव पक्षका नेता एबं आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रकाश ज्वालाले सरकार ढाल्ने कुरा साँचो नभएको बताएका छन्  । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दैछन् । यसरी प्रदेश सरकार बारेमा पनि अन्योल सृजना भएको छ ।

माधव नेपाल पक्षले केपी ओलि पक्षका निर्णय नमान्ने भन्दै आएको छ भने केपी पक्षधरले अब आ–आफ्नो हैसियत अनुुसार आ–आफ्नो स्थानमा बस्नुुुपर्ने भन्न थालेको छ ।

प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् । उता माओवादी केन्द्रले पनि सरकार सुुरक्षित रहेको दावी गरेको छ । माओवादी केन्द्रका संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले सरकार ढल्ने सम्भावना नरहेको बताइन् । ‘सरकारको समर्थन लिने निर्णय आधिकारीक एमालेको निर्णय होइन्, यो निर्णयमा एमाले एकताबद्ध छैन,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिको समीकरणअनुसार प्रदेशमा पनि प्रभाव पर्ने भएकाले सरकार अहिले नै ढल्छ भन्ने केही छैन । ’

एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने सम्भावना पनि नभएको उनले बताइन् । सरकार अझै पनि बहुमतमा रहेको उनको दाबी छ । उनले एमालेका एउटा समूहका १० जनाले मात्र सरकार नबन्ने भन्दै प्रदेश सरकारले विश्वासको मत लिएर देखाउने दाबी गरिन् ।

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । अहिले एमालेभित्र ओली पक्षका १० जना सांसद देखिएका छन् । केही दिनअघि मात्रै नेपाल समूहमा रहेका पदम रोकाया र पद्मा खड्का ओली पक्षमा देखिएका छन् ।

ओली पक्षमा रहेका दुई जना मन्त्री दल रावल र नन्दसिंह बुढा नेपाल समूहमा खुलेका थिए । तर फेरि दुई मन्त्री ओली समूहमा फर्कने हल्ला पनि चलेको थियो । नेकपा एमालेका प्रमुख सचेतक गुवाबजंग शाहले अहिले मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । उनले बाँकी प्रक्रियामा जाने जनाए । एमाले एक भएको खण्डमा पनि सरकार बन्ने अवस्था छैन ।

सरकारलाई बहुमतका लागि २१ जना संख्या चाहिन्छ । कांग्रेसको साथ अनिवार्य छ । माधव नेपाल पक्ष र कांग्रेस तथा माओवादी एक भएर पनि सरकार बनाउन सक्ने सम्भावनाबारे पनि चर्चा चलेको छ । यसरी देशभर अहिले सत्तामा को जाने र कसलाई हटाउने भन्नेमै ध्यान केन्द्रित बनेको छ ।

प्रतिक्रिया दिनुहोस