विकास निमार्णको कार्यमा राजनीति नगरौं मन्त्रीः ज्वाला

सल्यान, ६ फागुन ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विकास निमार्णको कार्यमा राजनीति गर्न नहुने बताएका छन् । विकास कुनै एक पार्टी विशेषका लागि मात्र नभएर सबैका लागि भएकाले राजनीतिक आग्रह पूर्वाग्रहबाट विकासलाई टाढा राख्नु पर्ने बताए ।

बिहीबार महेन्द्ररत्न माध्यमिक विद्यालय शारदा नगरपालिका ४ पिपलनेटाको ६ कोठे विद्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विकास गर्न सबैले हातोमालो गरेर अघि बढ्नु पर्ने बताए ।

उनले भने विकास र राजनीतिलाई मिसाउँदा न त विकास नै दिगो हुन्छ न त राजनीतिले गति लिन छ । त्यसकारण निर्वाचनको समयमा राजनीति गरौं तर विकास निमार्णमा साझा भावका साथ अघि बढौं ।

सडक नहुँदा एकाध वर्ष पैदल हिड्न सकिने तर शिक्षा विना एक पाइला पनि अघि बढ्न नसकिने मन्त्री ज्वालाको भनाई छ । शिक्षा विना संसार नै अन्धकार हुने भएकाले गुणस्तरिय शिक्षा तथा प्रविधियुक्त शिक्षालाई नेपाल सरकारले प्राथमिकता दिएको बताए ।

सबै नागरिकका छोराछोरीलाई निःशुल्क, सर्वशुलव र गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ सामुदायिक विद्यालयले योजना बनाई अघि बढनु पर्ने बताए ।
यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले देशलाई आवश्यक पर्ने योग्य, दक्ष जनशक्ति विद्यालयले नै उत्पादन गर्ने भएकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नु पर्नेमा जोड दिए । देश सञ्चालन गर्ने जनशक्ति विद्यालयबाट नै उत्पादन हुने भएकाले सबै क्षेत्र शैक्षिक सुधारका लागि लागि पर्नु पर्ने बताए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको ५० लाख रुपैयाँको लागतमा छ कोठे पक्की भवन निमार्ण गरिएको छ । विद्यालय भवन निमार्ण पश्चात विद्यार्थीको पठनपाठनमा निकै मद्यत पुग्ने विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले बताए ।

प्रतिक्रिया दिनुहोस

<