अव ४ जिल्ला जाँदैनन कर तिर्न दाङ, चकचके पछि श्रीनगरमा बन्दै कार्यालय

सल्यान, ६ फाल्गुन ।
रोल्पाको चकचकेमा कर कार्यालय स्थापना गरेको आन्तरिक राजस्व कार्यालय दाङले अव सल्यानमा पनि बनाउदैछ । रोल्पा र प्युठानलाई लक्षित गरी चकचकेमा राजस्व कार्यालय स्थापना गरेपिछ अव सल्यानका लागि पनि प्रक्रिया थालिएको छ ।

सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा फागुनमा नै सेवा प्रवाह गर्ने गरी कार्यालय स्थापना गर्न लागिएको हो । जिल्लामा कर कार्यालय नहँुदा कर्णाली प्रदेशमा पर्ने सल्यान र रूकुमका उद्यमी तथा व्यवसायीहरु कर तिर्नको लागि प्रदेश नम्बर ५ को दाङ तुलसीपुर जानुपर्ने बाध्यता रहेको थियो ।

जिल्लामा रहेका उद्यमी तथा व्यवसायीहरुको समस्यालाई ध्यानमा राखेर जिल्लामा नै कर कार्यालय स्थापना गर्न लागिएको हो । कर कार्यालय राख्न घर भाडाको लागि सोमबार देखी एक हप्ते निवेदन आह्वान गरिएको छ । यही महिनाको अन्तिम साता सम्म जिल्लाबाट नै सेवा प्रवाह गर्ने गरी कामको थालनी गरिएको कर कार्यालय दाङ तुलसीपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कर कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत लिला प्रसाद शर्मा र उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउने सहितको टोलीले छलफल गर्दै यही महिना देखी सेवा प्रवाह गर्ने गरी तयारी थालिएको हो । उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष चलाउनेले साना तथा लघुउद्यम, उद्योग, ब्यबसायको दर्ता, नविकरण, कर बुझाउने लगाएतका काम अब सल्यानबाट नै हुँने जानकारी दिए ।

‘साना तथा लघुउद्यम, उद्योग, ब्यबसायीहरु प्रदेश नम्बर ५ मा जानुपर्दैन, दाङमा हुने भिडभाडबाट मुक्ति पाईन्छ, अब कर समबन्धी सम्पूर्ण कामहरु सल्यानमा नै हुन्छ’ उनले भने ‘जिल्लाको बजार अनुगमण देखी हरेक कामहरु प्रभावकारी रुपमा सञ्चालन हुन्छ ।’ कर कार्यालयमा एक जना कर अधिकृत सहित नायव सुब्बा, खरिदार, कम्युटर अपरेटर सहितका कर्मचारी हुने छन् ।

प्रतिक्रिया दिनुहोस

<