निर्वाचित भएको तीन वर्ष भएता पनि करीब २ वर्ष कार्यविधि र नीति नियमहरु तयार गर्दै वित्यो,

कालिमाटी गाउँपालिका वडा नं. ४ बाट निर्वाचित वडाध्यक्ष श्री बेल बहादुर चन्द

सल्यान, २ साउन ।

यतिबेला निर्वाचित जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल अन्तर्गतको ३ वर्ष वितिसकेको छ । निर्वाचित जनप्रतिनिधिहरुले विताएको उक्त ३ वर्षे अवधिमा उहाँहरुकै भनाईमा के कस्तो सफलता, असफलता वा अनुभव रह्यो भन्ने कुराहरु र जनमानसमा उठेका विषयवस्तुहरुलाई समेत जोडेर प्रस्तुुत गर्ने जमर्को हामीले गरेका छौं । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नंं. ४ बाट निर्वाचित वडाध्यक्ष श्री बेल बहादुर चन्दसंग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं ।

यस्तो छ, उहाँसितको कुराकानी

प्रश्नः यो ३ वर्षे अवधिमा जनताका समस्या र गुनासोहरु के कति सम्बोधन गरिए ।

उत्तरः निर्वाचित भएको तीन वर्ष भएता पनि करीब २ वर्ष कार्यविधि र नीति नियमहरु तयार गर्दै वित्यो । तर पनि यसबीचमा धेरै गुनासोहरु सम्बोधन गरेका छौं । स–साना धेरै आयोजनाहरु जनताको माग बमोजिम नै निर्माण गरेका छौं ।

प्रश्नःसमग्रमा जनस्तरबाट के कस्तो अपेक्षा गरिएको पाउनुहुन्छ ?

उत्तरः जनस्तरबाट दुवैखाले कामको अपेक्षा पाईन्छ । एउटा त तत्कालै राहत पुग्ने योजनाहरु जस्तो कि खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्य लगाएतका कुराहरुको बढी अपेक्षा देखिन्छ र त्यस्तै अर्को दीर्घकालीन आयोजनाहरु जस्तो कि सडक विस्तार तथा स्तरोन्नती, विद्युत लाइन विस्तार र रोजगारी लगायतका कुराहरुको माग हुने गरेको छ ।

प्रश्नः जनताको माग बमोजिम के कति कामहरु गर्नुभयो ?

उत्तरः जनताका सवै मागहरु पुरा गर्न नसकिएको भएता पनि समग्रमा यसबीचमा धेरै कुराहरु सम्बोधन गरेका छौं । खानेपानी, सिंचाई, सडक बाटो विस्तार लगायतका कामहरु केही सम्पन्न गरेका छौं भने केही क्रमागत रुपमा अगाडि बढाएका छौं ।

प्रश्नः विद्युत लाईन विस्तारको काम कहाँ पुग्यो ?

उत्तरः गाउँपालिकाको प्राथमिकता नै सडक तथा विद्युत विस्तार भएकोले काम तित्र रुपमा अगाडि बढेको छ । वडा नंं. ३ मा ८०/९० घर कभर भैसकेको छ । अब आ.ब. ०७७/०७८ मा वडा नं. २ देखि ५ सम्म नै विस्तार गर्ने योजना रहेको छ । तर कतिपय अवस्थामा निर्माणको चरणमा पुग्ने प्रक्रिया नै लामो हुने गरेकोले यसबीचमा ढिलाई भएको हो ।

एक साताको अनलाईन सूचना राख्नुपर्ने आधुनिक जमानामा पनि ३५ दिने सूचना प्रकाशन, त्यस्तै ढिला गरी नतिजा, अनि सम्झौता गर्ने हाम्रो झन्झटिलो प्रशासनिक प्रणालीले ३ महिनाभन्दा बढी समय त्यसै वित्ने गरेको छ । यो काम गर्ने प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता महशुस हामीलाई हुने गरेको छ ।

प्रश्नः विशेष गरी जनस्तरबाट आउने के कस्ता योजनाहरु सम्बोधन गर्न गाह्रो परेको छ ?
उत्तरः जनस्तरबाट विशेष गरी रोजगारीका अवसर सृजना गर्नुपर्ने कुराहरु आउने गरेको छ । तर यो समस्या कालिमाटी गाउँपालिकाको मात्रै नभै समग्र जिल्ला र देशको नै हो । यसमा सवै तहका सरकारहरुले जोड दिन आवश्यक छ ।

प्रश्नः रोजगारीको शिलशिलामा अहिले के कति मानिसहरु बाहिर रहेका छन् ?
उत्तरः अहिले समग्र कालिमाटी गाउँपालिकाको तथ्यांक अनुसार करीब १५०० जति भारतमा छन्, त्यत्तिकै संख्यामा अन्य देशहरुमा छन् र करीब ३५०० को संख्यामा देशकै विभिन्न जिल्लामा कामको शिलशिलामा पुगेको अवस्था छ । सोहि अनुपातमा हाम्रो वडामा पनि बाहिरिएका छन् ।

प्रश्नः अहिले गाउँपालिका र वडाहरुमा आवश्यक जनशक्ति छ कि छैन ?

उत्तरः हाल जनशक्तिको अभावमा कामकाज रोकिएको अवस्था छैन, त्यसैैले जनशक्तिको अभाव भन्न मिल्दैन ।

प्रश्नः वडा अनुसार समानुपातिक रुपमा बजेट विनियोजन नभएको कुराहरु सुन्न सकिन्छ, किन होला ?

उत्तरः हाम्रो गाउँपालिकामा वडा अनुसार बजेट विनियोजन गर्ने गरिएको छैन, सवैभन्दा प्राथमिकताको कुरा के हो र कुन स्थानमा पर्छ भन्ने कुरालाई हेरिएको छ ।

गाउँपालिका केन्द्र्र स्थानमा अन्यत्रभन्दा बढी नै खर्च हुने गरेको छ । प्रशासनिक संरचना निर्माण, जनघनत्व लगायतका कारण पनि बढी खर्च हुन्छ, त्यसै गरी बाटो तथा बत्ति नपुगेका वडाहरुमा पनि तुलनात्मकरुपमा बढी बजेट दिनुपर्ने हुन्छ, यसमा पनि कसैको विमति रहदैन । त्यसैले आवश्यकता र योजनाका आधारमा बजेट विनियोजन हुने गरेको छ ।

प्रश्नः तपाईहरुले हालसम्म गरेका महत्वपूर्ण कामहरु सम्झनुपर्दा के के पाउनुहुन्छ ?
उत्तरः हाम्रो महत्वपूर्ण काम भनेको गाउँपालिकाले विभिन्न क्रियाकलापहरु सञ्चालनको लागि नीतिनिर्माण र कार्यविधि निर्माण गर्यौं, त्यसै गरी गाउँपालिकाको भवन निर्माणको काम अगाडि बढायौं, त्यसैगरी विद्युत विस्तार र वडाहरु जोड्ने सडक विस्तारका कामहरु अगाडि बढायौं । आफ्नो वडा मात्र नभै समग्र गाउँपालिकाको विकासको सन्दर्भमा पनि हाम्रो साथ र सहयोग चाहिन्छ, हामीले साथ दिएका छौं ।

प्रश्नः कालिमाटी गाउँपालिका बनसम्पदाको भण्डार नै छ, यसबाट समग्र गाउँपालिका र जनताले समेत केही लाभ लिने अवस्था छ कि छैन ?

उत्तरः हो, कालिमाटी गाउँपालिका बन सम्पदामा धनी छ, तर पनि यसबाट गाउँपालिकाले कुनै लाभ लिन सकेको छैन । समुदायले समेत यसबाट लाभ लिन सकेको अवस्था छैन । यसमा राज्यको कानून नै बाधक छ, यो कुरा देशकै समस्याको रुपमा रहेको छ । ढलापडा काठहरु समेत उपयोग गर्न सक्ने अवस्था छैन, आवश्यक काठ र फर्निचर समेत बाहिरैबाट मगाउनुपर्ने अवस्था छ ।

प्रश्नः यदि बनसम्पदा को सहि सदुपयोग गर्ने कुरामा कहि कतै बाधा अड्चन छन् भने तपाईहरुको स्तरबाट समेत पनि कुनै न कुनै दवावमूलक कामहरु गर्न सक्नुहुन्छ होला, तर केही बोलेको सुनिदैन त ?
उत्तरः बनसम्पदाको सहि सदुपयोग गर्ने कुरामा हाम्रो दवावले मात्रै हुदैन, सवै लाग्नुपर्छ, बोल्नुपर्ने वा कुनै निर्णय गर्नुपर्ने अवस्थामा हामीले पनि मदत गर्नेछौं ।

प्रश्नः तपाईहरुले जनताले माग नै नगरेको धर्मनिरपेक्षतालाई सहर्ष स्वीकार गर्नुभएको छ, तर यसविषयमा अधिकांश जनता पटक्कै सहमत छैनन्, यसमा तपाईको भनाई के छ र कसरी जनताको भावनालाई कदर गर्नुहुन्छ ?
उत्तरः सवै धर्मावलम्बीहरुको सम्मान र सुरक्षा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,। तर यसमा पार्टीको केन्द्रको निर्देशन अनुसार नै हामी चल्नुपर्ने हुन्छ । हाम्रो आफ्नो विचारले महत्व पाउदैन ।

प्रश्नः तर धर्म निरपेक्षताले धर्म परिवर्तनलाई मदत गरेको छ । नेपालको अस्तित्व र पहिचानको रुपमा रहेको संसारको एक मात्र हिन्दुराष्ट नेपाललाई धर्म निरपेक्ष बनाउनुपर्ने के बाद्ययता थियो ?

यसरी मिलेर बसेको समुदायमा विचलन ल्याउने कुराहरु बढ्दै जाँदा भोलि थेक्नै नसकिने साँस्कृतिक द्वन्द्व हुनथाल्यो भने यसको जिम्मेवार राजनैतिक दलले लिनुपर्ला कि नपर्ला, तपाईको व्यक्तिगत विचार के छ ?

उत्तरः हो, साँस्कृतिक विचलनले समाजमा दीर्घकालिन द्वन्द्व निम्तिने खतरा बढेको छ । त्यसमा पनि बहुुसंख्यक नेपाली र समग्र नेपालको आफ्नै पहिचान ओझेलमा पर्नुु राम्रो कुरा होइन । जनताको भावनाविपरित केहि कुराहरु भएका छन् र पनि यस विषयमा केन्द्रिय नेतृत्वले गरेका निर्णयहरुको विरुद्धमा हामी बोल्न सक्दैनौं ।

प्रश्नः तर खुलै रुपमा नउत्रे पनि आन्तरिक रुपमा भनौं या आफ्नो पार्टीमा, गाउँपालिका तथा जिल्लास्तरमा आ–आफ्नो ठाउँबाट दवाव सृजना गर्न त सकिन्छ होला नी ?
उत्तरः पार्टीमा यी कुराहरु उठ्दछन्, तर केन्द्रको नीति निर्देशनभन्दा बाहिर जाना कार्यकर्ताहरुलाई कठिन नै हुन्छ र पनि समय सन्दर्भ अनुसार आफुलाई लागेका कुराहरु बोल्ने गरेका छौं । यो जुन विषय छ, त्यो हाम्रो बसमा छैन । तर समुदायमा निम्तिने खतराबारे सचेत छौं र हुनुपर्छ भन्ने हामीलाई लागेको छ ।

प्रश्नः समग्रमा नयाँ व्यवस्थामा समेत विकास निर्माण लगायत देशको समृद्धिका समग्र पक्षले गति नलिएको भन्ने गुनासो सुनिन्छ, यसलाई कसरी लिनुभएको छ ?
उत्तरः हो, जनताले अपेक्षा गरे अनुसार विभिन्न गतिविधिहरु अगाडि बढ्न सकेका छैनन् । एउटा मूख्य कुरा र परिवर्तित राजनैतिक व्यवस्था अनुसारका कानून र नीति निर्माण गर्नमै धेरै समय खर्चिनुपरेको छ । त्यस्तै अर्कोतिर काम गर्ने प्रक्रिया अँझै पनि पुरानै प्रकारको छ ।

छिटोछरितो गर्नुपर्ने कुराहरु केन्द्रस्तरबाटै सुधार गर्नुपर्ने अवस्था छ । विकास निर्माणका लागि लामो समय दिएर टेन्डर खोल्ने प्रक्रिया छिटोछरितो बनाउन जरुरी छ ।

अर्को कुरा के छ भने नयाँ व्यवस्था सुरु भएपछि जे जति कामहरु भएका छन्, तीनलाई पनि निकै कम काम भएको भन्न मिल्दैन, पहिलाको तुलनामा निकै बढी भएको छ । तर पनि जनगुनासो आउनुलाई अन्यथा मान्नुहुदैन, धेरै सुधार गर्नुपर्ने कुराहरु पनि छन् ।

प्रश्नः कतिपय जनप्रतिनिधहरु साविक गा.वि.स. जत्तिकै पनि अधिकार नभएको, एउटा टिपेक्स र कलम लगायतका स–साना कामको भुक्तानी माग गर्न पनि गाउँपालिकामा पुग्नुपर्ने, जनअपेक्षा अनुसार धेरै कामहरु गर्न नसकेको भनेर निराशा व्यक्त गर्नुहुन्छ, यसमा तपाईको भनाई के छ ?

उत्तरः सवै वडामा सवै प्रकारको जनशक्ति पुग्न सक्दैन, तसर्थ कतिपय अवस्थामा सवै अधिकार गाउँपालिकामै केन्द्रित भएको जस्तो लाग्नु अस्वभाविक पनि होइन । तर पनि वडालाई अधिकार बिहिन बनाएको भन्ने मलाई लाग्दैन ।

गाउँपालिकाले वडाको आवश्यकता अनुसार भुक्तानीको प्रक्रिया मिलाएको छ । पेश गाउँपालिकामै गर्नुपर्ने भएता पनि वडाबाट माग भईआएका कुराहरु गाउँपालिकाले सम्बोधन गरेको छ ।

वडालाई अधिकार छैन भन्नुका पछाडि दुइवटा कारण हुन सक्दछन्, एउटा आफूले गर्न नसकेका कामहरु गाउँपालिकातिरै पन्छाउन सजिलो हुुनु र अर्कोतिर आफूले गर्न नचाहेका कामहरु गाउँपालिका वा स्थानीय सरकारतिर सिकाएर आफू उम्कने उपाय खोज्नु । तर वडालाई अधिकार विहिन बनाएको भन्ने कुरा मलाई सहि हो भन्ने लाग्दैन ।

प्रश्नः तर कतिपय वडाहरु गाउपालिका वा नगरपालिका कार्यालयदेखि निकै टाढा छन्, यस्तो अवस्थामा स सानो कामको भुक्तानी माग गर्न पनि गाउँपालिका वा नगरपालिकामै धाउनुपर्ने कुराले जनतालाई कठिनाई भएको छैन र ?

उत्तरः हो, यसमा केही समस्या छ । तर सवै वडामा सडक लगायतका पुर्वाधारको विकास गरिसकेपछि सहजता हुन सक्छ र अर्कोतिर निकै असहज भएका क्षेत्रका लागि विस्तारै केही न केही विकल्पहरु पनि तयार हुन सक्लान् ।

तर केही भएन वा केही गर्न सकेनौं भनेर निराश बन्नुपर्ने अवस्था म देख्दिन । हिजोको जस्तै हामीमा उर्जा छ, अँझै पनि धेरै कामहरु गर्न सकिने आशामा हामी छौं । जो निराश बन्नुभएको छ, उहाँलाई पनि निराश नबन्न र उर्जाशिल बन्न म अनुरोध गर्दछु ।

अन्तमा प्रस्तुुतकर्ताः

तपाईहरुमा यो उर्जा रहीरहोस्,समय र विचारको लागि धन्यवाद्

 

(सम्पादक गोविन्द शर्मा र वडाध्यक्ष बेल बहादुर चन्दबीच भएको कुराकानीको सारांश)

प्रतिक्रिया दिनुहोस