सल्यानमा कोरोना संक्रमित भेटिए तत्काल एक्सन लिने योजना तयार

सल्यान ४, जेष्ठ ।

छिमेकी जिल्ला दाङ्ग, बाँके, बर्दियामा कोरोना संक्रमित भेटिएसँगै सल्यानमा उच्च सर्तकता अपनाईएको छ । छिमेकी प्रदेश पाँचका बिभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएपछि सल्यानमा उच्च सर्तकता अपनाउन सुरक्षा निकायलाई हाइअलर्टमा राखिएको छ । धेरै आवतजावत हुने सल्यान जिल्लाका मुख्य नाकामा उच्च सर्तकता अपनाउन सुरक्षाकर्मीको संख्या बढाइएको छ भने बाह्य मुलुकबाट लुकिछिपी आएकाहरुको खोजी कार्य शुरु गरिएको हो ।

सम्भावित जोखिमको आँकलन गरेर उच्च सर्तकता सहित जिल्लाका १० पालिकाहरुमा कडा निगरानी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । ‘लकडाउन लागु भएदेखि नै नाकाहरुमा कडाइ गर्दै आएका छौं’ उहाँले भन्नुभयो ‘सल्यानसँग सीमा जोडिएका मुख्य नाका कपुरकोट, कालीमाटीमा पालिकाहरुसँगको समन्वयमा निगरानी बढाएका छौं ।’ उहाँले जिल्लामा कोरोना संक्रमित भेटिएमा कसरी नाकाशील गर्ने र रणनीति अपनाउने भन्ने योजना तयार गरिएको बताउनुभएको छ ।


‘अहिले सल्यान भित्रिने नाकाहरु शिल नै गरिएको छ, अत्याबश्यक बाहेकका अन्य सवारीसाधनहरुलाई आवागणमा पूर्ण रुपमा रोक लगाईएको छ’ उहाँले भन्नुभयो । जिल्लामा लुकिछिपी फर्किएकाहरुको बारेमा जानकारी दिन स्थानियलाई परिचालन गरिएको र यदी कोही आएको थाहा पाएमा जिल्ला प्रशासन, प्रहरी वा स्थानिय तहलाई खवर गर्न सुचना जारी गरेको उहाँको भनाई छ ।

यस्तै लकडाउनको बेला जिल्लाभित्र सवारीसाधन सञ्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्ध गरिएको छ । अत्याबश्यक कामको लागी भने जिल्ला प्रशासन कार्यालयले निलो कागजमा पास दिने उहाँले बताउनुभएको छ । चैत १ गते यता १६ हजार बढी सल्यान भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानसँगको तथ्यांकमा उल्लेख छ । जसमा रोजगारी, अध्ययन तथा श्रमका लागि भारत, तेस्रो मुलुक र अन्तरजिल्लाबाट आएकाहरु रहेका छन् ।

सल्लीबजारमा थप कडाई

सल्यानको सल्लीवजारमा पनि लकडाउनलाई थप कडाईका साथ लगिएको छ । बनगाड कुपिण्डे नगरपालिकाले विकासे काम अघि वढाएसँगै सल्लीबजारमा केहिदिन अघि स्थानीयको भिडभाड निकै बढेको थियोे । बैंक खाता खोल्ने, सम्झौता गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुको काम बढेपछि बजारमा आवतजावत समेत बाक्लिएको थियोे ।

कोरोना संक्रमण छिमेकी जिल्लामा बढेसँगै ईलाका प्रहरी कार्यालय सल्लीबजारले शनिबार बिहानै देखि खुलिरहेका पसल, चलिरहेका स्थानीय गाडी तथा स्थानीयमा कडाइ गरेको छ । अत्याआवश्यक वाहेक अन्यलाई हिडडुल नगरिदिन स्थानिय प्रशासनले आग्रह गरेको छ ।

salyantoday

प्रतिक्रिया दिनुहोस

<