सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

सल्यान, ३ जेठ ।
जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा कार्यालय प्रमुख र सूचना अधिकारीहरुको सहभागितामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीको सभाध्यक्षतामा कार्यालयकै सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सर्वप्रथम भण्डारीले आफ्नो कार्यालयले प्रवाह गरेका सेवाहरु, कार्यरत जनशक्ति र भए गरेका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सूचनाको हक बारेमा पहिलो प्रस्तुतिस्वरुप सूचनाको पृष्ठभूमि, संविधान र कानूनमा भएको व्यवस्था, यसको व्यवहारिक प्रयोग लगायतमा उनले स्पष्ट पारेका थिए । उनले सल्यान जिल्लामा सूचना माग गर्ने प्रचलन खासै नभएको पनि जानकारी दिए । लिखित रुपमा सूचना माग भई आएमा केहि अपवाद्लाई छोडेर जुनसुकै कार्यालयले नागरिकलाई अनिवार्य रुपमा सूचना दिनुपर्ने बताए ।

प्रमुख अतिथि माननीय जिल्ला न्यायाधिस कुल प्रसाद पाण्डेले आफ्ना भनाइ राख्दै सूचना सहज र सरल तरिकाले प्रवाह गर्नुपर्ने बताए । उनले सूचना प्रवाहका केहि सिद्धान्तहरु भएकोले ति सिद्धान्तहरु पालना गर्नुपर्नेमा पनि जोड दिए । न्यूनतम लागतको सिद्धान्त, अनिवार्यताको सिद्धान्त, अपवादको सिद्धान्त, शसक्तिकरणको सिद्धान्त लगायतका सिद्धान्तहरुको आधारमा सूचनाहरु प्रवाह गर्नुपर्ने बताए ।

त्यस्तै सूचनाको हक सम्बन्धी दोस्रो प्रस्तुति सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले राखेका थिए । उनले सूचना के हो, सूचनाको पृष्ठभूमि के हो, सूचना कसरी प्रवाह गर्नुपर्छ, कानूनमा के के कुराहरु उल्लेख गरिएको छ भन्ने जस्ता कुराहरु प्रस्तुत गरेका थिए । त्यस्तै सल्यान अस्पतालका सूचना अधिकारीले कतिपय अवस्थामा सूचना अधिकारीले नै सूचना नपाएको अवस्था पनि रहेको जानकारी दिए । यसले गर्दा सूचना अधिकारी नै सूचनाबाट विमुख भएको अवस्थामा नागरिकलाई सूचना दिन कठिनाई हुने बताए ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले कतिपय अवस्थामा दिनै नसक्ने सूचनाहरु समेत माग हुने, धेरै वर्ष पहिलेका सूचनाहरु पनि माग गर्ने जस्ता समस्याहरु आउने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले सूचना प्रवाह गर्न कन्जुस्याँई गर्न नहुने बताए । लिखित रुपमा माग भई आएमा कार्यालयले अपवाद बाहेकका सूचनाहरु दिनुपर्ने बताए । तर सार्वजनिक गर्नुपर्ने कुरामा ध्यान भने पुर्याउनुपर्ने, गलत सूचना प्रवाह गर्न नहुने, नागरिकहरुप्रति जवाफदेही बन्नुपर्ने कुरामा जोड दिए । त्यस्तै उनले अब प्रत्येक महिनाको १ गते सूचना अधिकारीसंग नियमित भेटघाट र छलफल गर्ने पनि जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै जिल्ला हुलाक अधिकृत भण्डारीले सूचनाको हकका लागि स्पष्ट व्यवस्था हुँदाहुँदै पनि व्यबहारिक पक्ष केहि कठिनाई नै रहेको बताए । तर पनि राष्ट्रसेवक भएको नाताले आफ्नो तर्फबाट नागरिकका लागि जति सक्दो सेवा दिन सक्नुपर्ने, जिम्मेवार अधिकारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने, सूचना प्रवाहमा कन्जुस्याँई गर्न नहुने र असल काम गर्न सके एक न एक दिन विभिन्न क्षेत्रबाट मुल्यांकन समेत हुने बताए ।

कार्यक्रममा सल्यान जिल्लाका प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाही, शसस्त्र प्रहरी प्रमुख विमल डाँगी, जिल्ला अनुसन्धान प्रमुख अशोक कार्की, सबुज गणका गणपति घनश्याम भटराई, डिभिजन बन प्रमुख थिर बहादुर कार्की, जिल्लास्थित विभिन्न कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीहरु, स्थानीय तहका कार्यकारी प्रमुखहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालयका सह लेखापाल शमसेर रेउलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<