सरकारसँग दोस्रो चरणको वार्ता अघि बढाउन समितिलाई निर्देशन

    काठमाडौँ, ३ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँगको दोस्रो चरणको वार्तालाई अघि बढाउन वार्ता समितिलाई निर्देशन दिएको छ ।

बैठकले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोश्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको हो ।

शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा वरिष्ठ नेता दीपक बोहोराले सरकारसँगको वार्ताको विषयमा जानकारी गराएका थिए ।

बैठकमा जनसंघर्षको पहिलो चरणको समिक्षा र दोश्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबाट प्रस्तुत प्रतिवेदन माथि विस्तृत छलफल र समिक्षा भएको नेता राजाराम वर्ताैलाले जानकारी दिए ।

यस्तै, प्रदेश कार्य समितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावी कार्ययोजना बैठकमा प्रस्तुत गरेका थिए ।

बैठकले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र सवै तहका कार्य समितिहरुलाई निर्देशन दिएको प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

<