लकडाउनपछि सुनसान आर्यघाट : शव जलाउनलाई अब अस्पतालको रिपोर्ट चाहिने

shambhu dangal
बैशाख ४, २०७७
काठमाडौं । पशुपति आर्यघाटमा पनि लकडाउनको प्रभाव परेको छ । पहिलेको भन्दा अहिले आर्यघाटको दृश्य पनि फेरिएको छ ।

यसअघि चिताबाट निरन्तर रुपमा बहने धुवाँको मुस्लो, आफन्तको आँखाभरी आँशु, मलामीहरुको भीड हुने आर्यघाट अहिले शान्त छ ।

मंगलबार दिउँसो एउटा मात्र शब जलिरहेको थियो । उपचारका क्रममा काठमाडौं ल्याँउदै गर्दा चितवनमा सुदीप रावलको मृत्यु भएको उनका आफन्तले सुनाए ।

झन्डै पन्ध्र बीस जना आफन्त मलामी आएका थिए । मृतकमा आफन्त रघु रावलले लकडाउन नभएको भए दुई तीन सय मलामी हुने बताए । पशुपतिसम्म छुट्टाछुट्टै स्थानबाट केही आफन्त मात्र मलामी आएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि मानिसको भीड गर्न निषेध गरिएको छ । पशुपतिमा मलामी पनि सिमिति संख्यामा मात्र जान भनिएको छ ।

कोरोना भाइरसको त्रासपछि पशुपतिमा शवदाह गर्ने व्यक्तिले मृत्युको कारणबारे डाक्टरको रिपोर्ट हेरेर शब जलाएको उनले बताए । उसो त घाटमा सामाजिक दुरी कायम गर्न जोड दिइएको छ । त्यहाँका कर्मचारीले सोही व्यहाराको सूचना भित्तामा टाँसेको देख्न सकिन्छ ।

शव जलाउन अस्पतालको रिपोर्ट चाहिने

कसैको मृत्युपछि शबदाह गर्न पशुपति आर्यघाट पुग्दा अब जोकोहीले मृत्युको विवरण खुलाउनुपर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासपहिले आर्यघाटमा शब जलाउन कडिकडाउ थिएन । अहिले भने शब जलाउनु अघि मृतकका आफन्तले के कारणले मृत्यु भएको, अस्पताल वा घरमा मृत्यु भएको खुलाउनुपर्ने ब्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

उनले भने, ‘कुन अस्पतालबाट शब ल्याएको, के भएर मृत्यु भएको थाहा पाउनुपर्ने अवस्था आएर अस्पतालको कागज मागेका हौँ । शव जलाउनु अघि त्यो माग्नु भनेका छौँ । केही शवहरु झुक्याएर पनि जलाए । घरबाटै ल्याएको हो भनेपनि अस्पतालबाट ल्याएको पाइयो । विदेशबाट आएका पनि घरकै हो भने । घरमा मृत्यु भएको हो कि अस्पतालमा त्यो स्पष्ट हुन माग्ने गरेका हौं ।’

उनले सामान्य ढंगले मरेको वा उपचारका क्रममा के रोग लागेको मृत्यु भएको थाहा पाउन यस्तो व्यवस्था गरिएको बताए ।

 

उनले भने, ‘दिल्लीबाट एउटा शव आयो । क्यान्सर भएर मृत्यु भएको रहेछ । त्यसरी शव ल्याउदा घरबाट हो कि अस्पतालबाट हो स्पष्ट हुन खोजेका छौँ ।’

अहिले शव जलाउने काममा खटिइनेहरुलाई पशुपति क्षेत्र विकास कोषले पिपिईको व्यवस्था गरेको छ । संक्रमणबाट सुरक्षित हुन शव जलाउँदा सावधानी अपनाउन भनिएको र जसले लास ल्याँउछन् उनीहरुलाई नै सुरक्षित ढंगले चितामा राख्न आग्रह गर्ने गरेको खतिवडाले बताए ।

 

उनले भने–‘यदि कोरोना संक्रमणबाट मृत्यु भएमा कसरी शव जलाउने भन्नेबारेमा पनि कुरा भएको छ । त्यस्तो अवस्था आएमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा ब्यवस्था गर्दैछौँ ।’

मृतकको संख्यामा कमी !

लकडाउन भन्दा पहिले दैनिक पच्चीस तीस वटासम्म शव जलाउनका लागि ल्याउने आर्यघाटमा अहिले बढीमा सात–आठ वटा शब आउने गरेको छ ।

शव आउन कमी भएपछि आर्यघाटमा शबदाहको काममा खटिने कर्मचारी पनि फुर्सदिला बनेका छन् ।

आर्यघाटमा शव जलाउनका लागि २६ जनाको समूह छ । उनीहरु २४ सै घण्टा आलोपालो क्रम अनुसार खटिइरहेका हुन्थे । यस्तै दाउरा बोक्नेको अर्को छुट्टै समूह छ । अहिले यी मध्ये आधा कर्मचारी मात्र आएका छन् ।

 

शव जलाउने व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषले कोरोना भाइरसबाट सुरक्षाका लागि पीसीई सेट उपलब्ध गराएको छ । उनीहरुले मास्क, पञ्जा र गम बुट लगाएर शवदाह गर्न थालेका छन् ।
यसरी पीपीईसेट लगाएर शव जलाउन कठिन हुने गरेको बिदुर कुमार बुढाथोकीले बताए ।

उनले भने–‘पिपिइ सेट लगाएपछि शरीरमा हावा छिर्न नपाउदो रहेछ । गर्मीमा पीपीई लगाएर आगोको छेउमा काम गर्न सकस हुने रहेछ ।’

शव जलाउनेको पीडाः परिवारले नजाउ भन्छन्

संसारभर कोरोनाको त्रासमा रहेका बेला आर्यघाटमा शव जलाउनेका साथै उनीहरुका परिवार पनि त्रासमा रहेका छन् । सरकारले जारी गरेको लकडाउनमा घरभित्रै बस्नु भनेको बेला शव जलाउनेहरु भने आर्यघाटमा हुन्छन् ।

धेरै समयदेखि शवदाहको काम गर्ने विदुर बुढाथोकीले भने, ‘कोरोनाको डर भएकोले परिवारले नजाउ भन्छन् । यहाँ शव ल्याए भने काम गर्नुपरिहाल्यो । यहाँ काम गर्ने साथीहरुले पनि डर मानिरहेका छन् ।’
अहिले आर्यघाटमा शव आउन कम भएकाले आधा भन्दा बढी काममा खटिनेहरु घरमा बसेको उनले सुनाए । थोरै संख्यामा आर्यघाटमा बसेपनि काम नरोकिएको उनले सुनाए ।

 

बुढाथोकीले भने, ‘कोरोनाले विश्व नै खाइसक्यो । सबै निकाय अहिले बन्द छन् । उनीहरु त काम नगरी पनि तलब भत्ता पाउँछन्, तलब खाएर बसेका छन् । हामीले त काम नगरी केही पाउँदैनौँ । हाम्रो त रोजीरोटीको सम्बन्ध छ । कामको चाप पनि कम छ, हामीले कार्य रोकेका छैनौँ ।’

अर्का शवदाह गर्ने एकजनाले भने, ‘के भएर मान्छे मरेको हुन्छ, रोग सर्छ कि भनेर डर हुन्छ । नगरी पनि नहुने काम छ ।’

प्रतिक्रिया दिनुहोस

<