जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता,

सुर्खेत, ३० मंसिर ।
जडीबुटी सङ्कलन गर्न गएका जुम्लाका १२ जन चार दिनदेखि बेपत्ता भएका छन् । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका हुन ।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्ने तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । १२ जनाकै अवस्था अज्ञात रहेको छ ।’

उहाँका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन् ।

स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिनुभयो ।

फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

<