असारे विकास र हामी

असारे विकासले यसपालि पनि छोडेन । जब असार लाग्यो, तब मात्र आत्तिने बानीले निरन्तरता पाईरहेकै छ । हामी जनता समेत यसमा अभ्यस्त भैसकेका छौं । असारमै काम गर्नुपर्छ भन्ने मानसिकता कर्मचारीको मात्रै होइन, उपभोक्ता समिति, ठेकेदार लगायत सवैको भैसकेको छ । उनीहरुले यही समयलाई सदुपयोग गरेका छन् । असार लागेपछि सडक पिच गरेका तस्वीरहरु पनि छ्यापछ्याप्ती देखिन्छन् । असार लागेपछि भएभरका तालिमहरु पनि सञ्चालन गरिएको सवैले देखेका छौं । एकातिर समयमा निकासा माग नगर्ने प्रचलन व्याप्त छ । अर्कोतिर सम्बन्धित निकायले निकासा भैसकेपछि पनि जनतालाई अत्याउने बानी नै छैन । कुन बेला बजेट आउँछ, कुनबेला सम्झौता गर्नुपर्छ, कुनवेला के काम गर्नुपर्छ भनेर सिकाउने कोही छैन । जानेबुझेको निकाय पुरै मौन बसिदिन्छ । कार्यान्वयन गर्न सहयोग गर्ने कर्मचारीहरु पनि मस्त निदाउने चलन पुरानै हो । आधिकारीक कर्मचारीले सुसूचित नगरिदिनु सिंगो कर्मचारीतन्त्रको कमजोरी हो । किनकी संगठनले सवैलाई जागरुक बनाउनसक्नुपर्दछ । जनतालाई कुनबेला के गर्नुपर्ने हो, त्यो थाहा दिनसक्नुपर्दछ । यही गुपचुप प्रणालीकै कारण उपभोक्ता समिति र ठेकेदारले सरकारी संयन्त्रलाई दोष देखाउछन् । अर्कोतिर असारमा गरिने कार्यको अनुगमन पनि राम्रोसित नगरिने र बजेट सक्नैपर्ने बाद्यता हुँदा काम गर्नेलाई पनि फाइदा हुनेभएपछि असारे विकास नै फलिफाप भएको छ ।
हामी कहिलेकाँही चियापसलका कुरा सुन्छौं, यस प्रकारको विकास गर्ने परिपाटीले मुलुक बन्दैन भनेर छलफल पनि गर्छौं । तर प्रतिउत्तरमा मुलुक बनाउने चिन्ता त कसलाई पो छर भन्ने जवाफ पाउछौं । अतः यथार्थमा मुलुकप्रति कोही पनि त्यति सम्बेदनशिल भएको पाइदैन । अँझ कतिपय कर्मचारीहरु त झुंगी (कमीसन) लिन समेत पल्किएका छन् । काम गरिदिएवापत उनीहरु केही प्रतिशत रकम आफूले पाउनुपर्ने प्रस्ताव राख्छन् या आशय व्यक्त गर्दछन् । तर सवै कर्मचारी त्यस्तै गर्छन् भनेको चाँही होइन । जसले गर्दछन्, ति भनेका यसैगरी निरन्तर आफ्नो जागिरे जीवन विताईरहेका छन् । उनीहरु नै कार्यालयमा हर्ताकर्ता छन् । उनीहरुले चाहे भने कतिपयका कामहरु हुनै दिदैनन् । उनीहरुलाई चित्त बुझेन भने भएको कामलाई पनि राम्रोसित नभएको भनेर सिफारिस गरिदिन्छन् । आफ्नो कार्यालयमा पनि पहुँच भएका र नेताहरुसित पनि पहुँच भएका कारण उनीहरु बलिया छन् । उनीहरु नेताका पनि प्यारा छन् भने उपभोक्ता समिति या ठेकेदारका पनि प्यारा छन् । यथार्थमा यस प्रकारको प्रचलनले जनता भने ठगिएका छन् । अतः असारे विकासबाट मुलुकको समृद्धि हुनै सक्दैन । निरन्तर कामको मुल्यांकन गर्ने र काम भैसकेपछि रकम निकासा गर्ने परिपाटी हुन सकेन भने हामी संधै असार विकासमा चित्त बुझाउनुपर्नेछ । न जनता सुखि, न मुलुकको समृद्धि । हामी कहिल्यै पनि अन्य मुलुकसित तुलनायोग्य बन्न सक्दैनौं ।

प्रतिक्रिया दिनुहोस

<