आज गुरुपूर्णिमाः गुरुको सम्मान गरी मनाइँदै

असार ३१, २०७६, मंगलबार

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा ।

ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ ।
’गु’ को अर्थ अन्धकार र ’रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।  जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई  गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा ।
आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ । व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ । सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ ।  गुरुलाई माता र पितापछिको स्थान दिइएको छ ।
ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ । गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ ।
मंगलबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ ।

प्रतिक्रिया दिनुहोस

<