साइकल चलाएर १० दिनमा दिल्लीबाट नेपाल

२०७७ जेठ ३ गते

३ जेठ, काठमाडौं । पर्साको पटेर्वासुगौलीका तीन युवक साइकल चढेर भारतको दिल्लीबाट १० दिनमा गाउँ आइपुगेका छन् । वैशाख २६ गतेदेखि उनीहरु गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् ।

सुगौली पटेर्वा–५ का ३२ वर्षीय लहबर मियाँ दर्जी, २९ वर्षीय हर्विन मियाँ दर्जी र ३८ वर्षीय सत्यनारायण चौधरी भारतबाट आएर सिधै क्वारेन्टाइनमा गएका हुन् । दिल्लीको फरिदाबादस्थित रोयल सिटीबाट वैशाख १६ गते साइकलमार्फत हिँडेका उनीहरु आग्रा, कानपुर, वाराणसी, पनिहवा, बेतिया, इनर्वा हुँदै नेपाल आइपुगेका हुन् ।

दिल्लीबाट साइकल चढेर निस्कँदा उनीहरु खुशी नै थिए । तर आग्रा आइपुगेपछि भने उनीहरु समस्यामा परे । दिल्लीमा हुँदा सिलाइ कटाइमा काम गर्ने तीनै जनाको दैनिकी राम्रै चलिरहेको थियो । दैनिक ६ सय भारतीय रुपैयाँ कमाउँथे ।

उनीहरुको सीप र कलाबाट मालिक पनि खुशी नै थिए । विगत १० वर्षदेखि काम गर्दै आइरहेको भए पनि पछिल्लो समय १५/२० दिन मात्रै भएको थियो दिल्ली गएको ।

भारत सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुको काम एकाएक बन्द हुन पुग्यो । उनीहरु साथमा रहेको पैसाले गुजारा चलाउँदै गए । रोगले भन्दा पनि भोकले मरिने चिन्ता उनीहरुमा बढ्दै गयो । उनीहरु नेपाल फर्कने सोच बनाए । तर कसरी घर फर्कने ? उनीहरुले एउटा उपाय निकाले । साथमा रहेको पैसाले साइकल किन्ने र साइकल चढेरै घर फर्कने ।

‘तीनै जनाले १५ सयदेखि १८ सय पर्ने साइकल किन्यौं,’ तीन जनामध्येका लहबर मियाँ दर्जीले भने, ‘कोठामा आएर खाना बनाएर खाँदा बिहानको ११ बजिसकेको थियो । आ–आफ्नो झोला बोकेर हामीले यात्रा सुरु गर्‍यौं ।’

‘चिप्लो टलक्क टल्किने कालोपत्रे सडक । लकडाउनका कारण सुनसान सडक । पहिलो दिनको यात्रा रमाइलो नै भयो,’ लहबर भन्छन्, ‘बाटोमा कसैले अवरोध नै गरेन । दिल्लीबाट आग्रा पुगुन्जेल कतै सोधखोज भएन । तर आग्रा आइपुगेपछि सुरक्षाकर्मीले सोधपुछ गरे ।’

सुरक्षाकर्मीले उनीहरुलाई एउटा बाटो देखाइदिए । त्यही बाटो भएर उनीहरु अघि बढे । तर त्यो बाटो धेरै लामो रहेछ । रातको १२ बजेपछि उनीहरु एउटा मन्दिरमा बास बसे ।

बिहान सबेरै फेरि आग्रा नै फर्किए । त्यहाँ सुरक्षाकर्मीले दिनभर रोकेर रात परेपछि मात्र छाडिदिए । ‘सही बाटो पहिल्याउन नसक्दा आग्रामै हाम्रो दुई दिन बित्यो’ उनी भन्छन् ।

त्यसपछि भने उनीहरु जसोतसो आग्राबाट कानपुर हुँदै वाराणसी आइपुगे । त्यहाँबाट अगाडि बढ्ने सही बाटो पहिल्याउन नसक्दा दुई दिन बाराणासीमै रोकिए । ‘दिनभर साइकल चलाउँथ्यौं तर दिशाहीन बन्न पुग्यो त्यो यात्रा’ दुःखको दिन सम्झँदै लहबरले भने, ‘थाकेको शरीरलाई कसैको घरको वरण्डामा विश्राम लिन्थ्यौं । घरबाट तरन्तार फोन आउँथ्यो । कहाँ आइपुग्नुभयो, के खानुभयो भनेर सोध्थे । तर बनावटी हाँसोमा सबै ठीक छ, खाएकै छौं, पीर नलिनु भनेर फोन राख्थ्यौं ।’

उनीहरुले कुनै रात मन्दिर त कुनै रात सडक पेटीमा बिताए । दिनभरि साइकल चलाउँदाको थकानले भुसुक्कै निदाउँथे । ब्युँझेपछि फेरि यात्रा सुरु गरिहाल्थे । दुई ठाउँमा त ट्रकमा राखेर सुरक्षाकर्मीले नै पठाइदिए ।

वाराणासीदेखि केही अगाडि बढेपछि एउटा शिवमन्दिरमा भने उनीहरुले राम्रो सहयोग पाए । ‘हाम्रो पीडा सुनेपछि उनले कागजको टुक्रामा नक्सा बनाएर बाटो देखाइदिए’ लहबरले भने ।

त्यसपछि उनीहरु पनिहवा, बेतिया हुँदै १० औं दिनको दिन राति ११ बजे नेपालको सीमा क्षेत्र इनर्वा आइपुगे । तर त्यहाँ आइपुगेपछि सुनेको अर्को खबरले उनीहरुलाई फेरि निराश बनायो । ‘बिहान भएपछि हामी नेपाल जाने तयारी गर्‍यौं । तर कसरी जाने भन्ने अन्यौलमा पर्‍यौं’ उनले भने ‘१० दिन अगाडि किनेको साइकल त्यतै छाडेर नेपाल आउने निधो गर्‍यौं ।’

उनीहरुले आफूहरु नेपाल फर्किन लागेको कुरा परिवारमार्फत जनप्रतिनिधिलाई जानकारी गराए । ‘हामीलाई उहाँहरुले सिधै क्वारेन्टाइनमा लगेर बस्ने व्यवस्था मिलाइ दिनुभयो, अहिले हामी क्वारेन्टाइनमा बसिरहेका छौं’ लहबरले भने ।

यो क्वारेन्टाइनमा उनीहरुसहित ३७ जना छन् । अहिले उनीहरुको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । क्वारेन्टाइनमा अवधि पूरा गरेर घर जाने दिनको प्रतीक्षामा छन् उनीहरु । ‘हामी आफ्नै घरआँगनमा आइपुगेका छौं । परीक्षण गराएर हामीमा संक्रमण छैन भन्ने पुष्टि भएपछि मात्रै घर जान चाहन्छौं’ उनले भने

onlinekhabar

प्रतिक्रिया दिनुहोस

<