प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु

सल्यान, १, ज्येष्ठ ।

बागचौर नगरपालिकाको आयोजनामा बुधवारदेखि प्रथम मेयरकप खेलकुद प्रतियोगिता श्री जनकल्याण मा.वि.को प्रांगनमा शुरु भएको छ । नगरप्रमुख लोकमान बुढाथोकीको सभाध्यक्षता र कर्णाली प्रदेश सभामा सल्यान क्षेत्र नं. क बाट निर्वाचित माननीय गुलाबजंग शाहको प्रमुख आतिथ्यताबीच खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन भएको हो ।

बागचौर नगरपालिका का उपमेयर कल्पना पुनको स्वागत मन्तब्यसंगै शुरु भएको सुभकामना मन्तव्य दिने क्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले खेल क्षेत्रमा अनुशासनको महत्व रहने भन्दै अनुशासनपूर्वक खेल खेल्न सुझाव दिए । उनले कुनै प्रकारको विवाद श्रृजना नहुने गरी खेलकुद प्रतियोगिता सम्पन्न होओस् भन्ने शुभकामना दिए । सिध्दकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले खेल क्षेत्रको विकाससंगै नगरपालिकाले सवै क्षेत्रको विकासमा जोड दिएको भन्दै सवैलाई उर्जा दिएको बताईन् ।

त्यस्तै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के.सी.ले. बागचौर नगरपालिकाले सवैलाई महत्वपूर्ण सन्देश दिएको बताए । नगरप्रमुख लोकमान बुढाथोकी र आफुबीच धेरै वर्षपहिलेदेखि नै संगत भईरहेको प्रसंग कोट्याउदै बाहिर देख्दा कठोर लागेपनि उहाँको दिल नरम रहेको र उहाँ क्षमताबान रहेको भन्दै नगरप्रमुख लोकमान बुढाथोकीको प्रसंसा गरे ।


त्यसैगरी दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी.(अरुण) ले शुभकामना मन्तव्य राख्दै क्षेत्र नं. १ मा बागचौर नगरपालिका अगाडि रहेको र यसले खेल क्षेत्रसंगै कला, साहित्य, संस्कृति लगायतको विकासमा पनि त्यत्तिकै जोड दिएको भन्दै प्रसंसा गरे ।

उनले अब उत्पादन र खर्च गर्ने तरिकामा सुधार गर्नुपर्ने बताए । त्यस्तै आलु, सुन्तला, दुध लगायतको पकेट क्षेत्र रहेका विभिन्न क्षेत्रमा र खेतबारीहरुमा पनि खेल खेल्न जरुरी रहेको बताए । उनले अर्को एक प्रसंगमा स्थानीय जनप्रतिनिधिले केहि गर्न नसकेको गुनासो राख्नु ठिक नभएको भन्दै २ वर्ष पनि कार्यकाल नवित्दै धेरै ठूलो आस गर्न नहुने बताए । तर आफ्नो यहि कार्यकालमै सवै वडाहरुमा सडकबाटो र विद्युत जडान गर्न सक्नुपर्ने र सोहि बमोजिम स्थानीय, प्रदेश र केन्द्रिय सरकारले समेत आ –आफ्नो क्षेत्रमा अँझ बढि लाग्नुपर्ने बताए ।

शुभकामना मन्तव्यकै क्रममा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर ले विकासको क्षेत्रमा कायापलट नै गर्न नसकेपनि केहि न केहि परिवर्तन गर्न आफूहरु सक्षम रहेको बताईन् । उनले कार्यक्रममा आयोजकको प्रसंसा गर्दै यसले सवै क्षेत्रको विकासमा जोड दिएको, सवैलाई एकताबद्ध गराएको बताईन । स्वास्थ्यका लागि मात्रै खेल नभै राष्ट्रकै लागि समेत खेल भएको उल्लेख गर्दै यसले नगरपालिका र जिल्लाकै पहिचानमा योगदान पुग्ने बताईन् । कार्यक्रममा विशिष्ट अतिथि बन्गाड कुपिन्डे नगर प्रमुख गोविन्द पुनले शुभकामना मन्तव्यकै क्रममा स्थानीय तहले केही गरेनन् भन्ने बुझ्नु गलत भएको बताए । यसबीचमा धेरै काम भएको भन्दै कतिपय मिडियाले गलत कुराहरुको प्रचार गरेको बताए । आफू अहिले संयुक्त पार्टीको अध्यक्ष भएको प्रसंग राख्दै सवैको सल्लाह सुझाब अनुसार आफूले काम गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय गुलाबजंग शाहले शुभकामना मन्तव्य राख्दै बागचौर नगरपालिकाले सबैलाई जोड्ने र एकताबद्ध गर्ने काम गरेको बताए । सवै वडालाई समेटेर, सवै वडाध्यक्षहरुलाई एकताबद्ध गराएर जसरी खेल संगसंगै कला, साहित्य, संस्कृति समेतको जगेर्ना गर्ने जुन प्रयाश भएको छ, यो प्रसंसनीय रहेको बताए । जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एबं प्रतिनिधिहरुको समेत उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरेकोमा बागचौर नगरपालिकाको प्रसंसा गरे । भोलिका दिनमा यहाँका खेलाडिहरु जिल्ला हुँदै प्रदेश र राष्ट्रिय खेलाडि समेत बन्न सक्ने भएकोले यसप्रकारका प्रतियोगिताहरु महत्वपूर्ण रहेको बताए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्यसंगै विभिन्न वडाहरुबाट आ –आफ्ना नृत्यहरु प्रस्तुत गरिएको थियो । बालप्रतिभादेखि,  सोरठी, पञ्चेबाजा, सेरङगे र विभिन्न आमा समूहहरुले आ आफ्ना प्रस्तुतिहरु राखेका थिए । उद्घाटन सत्रको अन्तमा वडाध्यक्षहरुको भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगिताका विभिन्न चरणहरु बाँकी रहेको र ज्येष्ठ ६ गते कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्लाका सुरक्षा प्रमुखहरु, पत्रकार, स्थानीय बुद्दिजीवी, शिक्षक, व्यापारी र सर्वधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ११ का वडाध्यक्ष मोहनलाल खड्काले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

<