अब कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने

काठमाडौँ, ४ फागुन ।

अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ ।

उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।

‘मूल नियमावलीको नियम ८० (१) उपनियम (२) मा संशोधन गरी ‘कक्षा दशमा’ भन्ने शब्दहरूको सट्टा ‘कक्षा बाह्रमा’ भन्ने शब्दहरू राखिएका छ,’ सोमबार (फागुन ३ गते) प्रकाशित राजपत्रमा छ, ‘२ (क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि महामारी वा यस्तै अन्य विपद्का कारण पठनपाठन अवरुद्ध भई विद्यालयबाट स्नातान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्नेछ ।

सोको जानकारी सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइलाई दिनु पर्नेछ ।’

यसअघिको विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा, वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा वा अभिभावक बसाई सराई भएमा मात्र कक्षा १० मा स्थानान्तरण प्रमाणपत्र दिने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस

<