भ्रष्टाचार र अनियमितता न्यूनिकरणका उपायहरुः

  राज्यले चाह्यो भने धेरै कुराहरु सम्भव छ । भ्रष्टाचार सून्यमा झार्न सक्छ, प्रत्येक नागरिकहरुको लागि रोजगारी श्रृजना गर्नसक्छ, विकासको गति अहिलेको भन्दा तीनगुना बढी बनाउन सक्छ । सवै प्रकारका भ्रष्टाचार र अनियमितता अन्त्य गर्न सक्छ ।
गर्न चाहने हो भने भ्रष्टाचार र अनियमितता न्यूनिकरणका धेरै उपायहरु छन् । जसका केहि उपायहरु यहाँ उल्लेख गरिएको छ । सवैभन्दा पहिले कार्यालयमा नगद कारोवार बन्द गर्नुपर्छ । सवै प्रकारका शुल्कहरु बैंकिङ प्रणालीबाट तिर्नुपर्दछ । कसैले नगद कारोवार गरेको थाहा पाएमा तत्काल कारबाही गर्नुपर्छ । चिया, भोज, नास्ता लगायतको नाममा रकम असुल गर्ने कार्यलाई निस्तेज गर्न सवै सरोकारवालाहरुलाई सचेत गराउनुपर्छ । भ्रष्टाचार रोक्न अनुदानका कार्यक्रमहरु सवै रोक्नुपर्छ । सरकारले दिएको राहत र अनुदानमा ठूलो भ्रष्टाचार भएको छ । वास्तविक पीडित र पाउनुपर्नेले रकम पाएका छैनन् । कृषककै कुरा गर्नुपर्दा पनि अनुदानको मल, अनुदानको बीउ, अनुदानका बाख्रा, अनुदानका कृषि सामग्री लगायत सवै क्षेत्रमा टाँठाबाठाको हालीमुहाली भएको छ । जो ईमान्दार कृषक हो, उसले अनुदानका लागि आवश्यक कागजात पनि पुर्याउन सक्दैन । राज्यले सवै प्रकारको उत्पादित वस्तुको बजारीकरण र व्यवस्थापन गरिदिए पुग्छ, जनताले उत्पादन आँफै गर्न सक्छन् । बरु मजदुर र किसान वर्गका लागि निशुल्क विमाको व्यवस्था भने गर्न जरुरी छ ।
तालिमका कार्यक्रमहरु पूर्णरुपमा सरकारले चलाउनुपर्छ र तलव वा राज्यले तोकिदिएको पारिश्रमिकबाहेक एक रुपँया पनि बढी लिनुहुदैन । अहिले जस्तो विभिन्न थरी सेवा सुविधा छँदाछँदै फेरी पनि जताततैबाट कमाउने सोच बनाउनु उपयुक्त हुँदैन । काम नै तालिम दिने भएपछि तालिम दिएबापत खाना, भत्ता, यातायातखर्च र प्रशिक्षण पारिश्रमिक खोज्नु उपयक्त हुदैन । अहिले भईरहेको व्यवस्था अनुसार सक्नेले दश ठाउँबाट दश थरी सुविधा लिईरहेका छन् र नसक्नेहरुले केहि पनि पाएका छैनन् । अहिलेको व्यवस्था पूर्णतः पूजिवादी व्यवस्थामा रुपान्तरित भएको छ । तर मुलुकमा समाजबादी व्यवस्थाको खाँचो छ । भ्रष्टाचार न्यूनिकरणका लागि नागरिकहरुलाई नैतिक शिक्षा र नागरिक शिक्षा दिन अनिवार्य छ । जसबाट नागरिकहरुको आचरमा सुधार हुनेछ भने राष्ट्र र राष्ट्रियताको भावना विकास हुनेछ । अहिलेजस्तो सीमापारीबाट नेपालतिर ढुंगा बर्साउनेहरुलाई समेत नेपाल सरकारले सम्मानीत गर्दै देशभक्त नागरिकको पगरी गुठाईदिएको छ । जसका कारण पराईको आड्मा आफ्नै घरमा आगो लगाउनेहरु बढेका छन । लाभ लिने बखत आफूलाई असल नेपाली नागरिक ठान्ने र लाभ नपाउने अवस्थामा पराईतिरै ढल्किने परिपाटी बन्द गर्न जरुरी छ । आज शक्ति र सम्पत्तिका आडमा गलत काम गर्नेहरु शक्ति र सम्पत्तिकै आड्मा सुरक्षा पाईरहेका छन् । यो व्यवस्थाको तत्काल अन्त्य गर्नुपर्छ ।
भ्रष्टाचार र अनिमितता न्यूनिकरणका लागि राज्यले अनिवार्यरुपमा नागरिकहरुलाई रोजगारी दिनुपर्छ र सवैलाई कामको बाँडफाँड गर्नुपर्छ । अहिले पनि कतिपय कार्यालयहरु घाम तापेर बस्नुपर्ने अवस्थामा छन् भने कतिपय कार्यालयमा कामको निकै चाप छ । काम गर्नेले पनि राज्यको त्यहि सुविधा लिएको छ भने नगर्नेले पनि राज्यले दिने सवै सुविधा प्रयोग गरेको छ । भ्रष्टाचार न्यूनिकरणको अर्को उपाय पैंसा खर्च गरेर निर्वाचन जित्ने, दादागिरी र गुन्डागर्दीबाट निर्वाचन जित्नेहरुलाई आम नागरिकहरुले बहिष्कार गर्ने नीति ल्याउनुपर्छ । नागरिकले दिएको उजुरी राज्यले सुन्नुपर्छ, प्रमाण नपुगेको भन्दै अपराधिहरुलाई उन्मुक्ति दिनुहुदैन । भ्रष्टाचार र अनियमितिता रोक्ने अर्को उपाय भनेको पटक पटक गलत काम गर्ने राष्ट्रसेवकहरुलाई तत्काल अवकास, आजिवन कारावास या मृत्युदण्ड समेत दिनसक्ने कडा कानून ल्याउनुपर्छ । त्यसैगरी अर्को उपाय भनेको प्रत्येक नागरिकहरुले अनिवार्यरुपमा परिश्रम गरेर खानुपर्ने व्यवस्था ल्याउनुपर्छ । त्यसपछि मात्र सम्पत्ति लुकाउने र थुपार्ने चलनको अन्त्य हुनेछ । यसरी सरकारी क्षेत्र इमान्दार हुने हो भने निजी क्षेत्र त स्वतः लाइनमा आउनेछन् ।
अतः राज्यले चाह्यो भने धेरै कुराहरु सम्भव छ, जसका लागि मुख्यतः राजनैतिक नेतृत्वमा दृढ ईच्छाशक्तिको खाँचो छ, ईमान्दार राष्ट्रसेवकको खाँचो छ र परिश्रमी नागरिकहरुको यो मुलुकमा खाँचो छ ।

प्रतिक्रिया दिनुहोस

<