रोकिएन बालविवाह, फेरी विवाह मण्डपबाटै बेहुलाबेहुली र पण्डित सहित ७ जना पक्राउ

 

सल्यान, २८ असोज ।
सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनीहरुका आमाबुबा र पण्डितलाइ समेत प्रहरीले पक्राउ गरेको हो ।


आइतबार विहे गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको हो ।

स्थानीय सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागि विवाह गरेका थिए । हिन्दु परम्परा अनुसार विवाहमा लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो ।

बालविवाहको कार्यमा संलग्नको नाम गोप्य राखिएको छ । २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह मानिने भएकाले त्यस्तो विवाह गैह्र कानुनी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस