कपुरकोटबाट तीन महिनामा ७ करोडको तरकारी बिक्री

तरकारी बजारमा थप सावधानी

सल्यान, ३० भदौ ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि सल्यान कपुरकोटको तरकारी बजारमा थप सावधानी अपनाइने भएको छ ।

कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले यस अघि बनाइएका नियमलाई पूर्ण रुपमा पालना गर्न ब्यापारी तथा किसानहरुलाई आग्रह गरेको छ ।

कतिपय ब्यापारिहरु पिसिआर रिपोर्ट विना नै तरकारी बजारमा प्रवेश गरेको भन्ने गुनासो आएपछी बजार प्रवेशमा थप कडाई गरिने भएको हो ।

गाउँपालिका, प्रहरी प्रशासन, ब्यापारि, किसान तथा सरोकारवालासंग समन्वय गरेर कोरोना भाइरसको दृष्टीकोणले जोखिमजन्य देखिएका सबै क्रियाकलापमा प्रतिवन्ध लगाइने कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए ।

बजार केन्द्रले पिसिआर अथवा आरडिटी रिपोर्ट सहित बजार केन्द्रमा सुचिकृत भएपछि मात्रै ब्यापारिहरु कपुरकोट क्षेत्रमा आएर तरकारि खरिद गर्न पाउने नियम बनाएको छ ।

बजार केन्द्रका सचिव तिलक शर्माका अनुसार तरकारी विक्रि गर्ने किसान, ब्यापारि तथा लोड अनलोड गर्ने लेवरहरुले कोरोनाका नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्छ ।

२० वर्ष अघि देखी कपुरकोट क्षेत्रमा तरकारी गरिद गर्दै आएका ब्यापारि बद्रुदीन राइनले आफुहरुले सबै नियम पालना गरिरहेको जनाउदै कतिपय ब्यापारिहरुले नियम उल्लंघन गरेको भन्दै बजार केन्द्रले उनीहरुलाई कारवाही गर्नुपर्ने बताए ।

उनले कपुरकोट क्षेत्रमा जति सक्यो धेरै बयापारि आउने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । धेरै ब्यापारिहरु भएमा प्रतिष्पर्धा हुने र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले उचीत मुल्य पाउने उनको तर्क छ ।

सल्यान कपुरकोट स्थित मंगलबार लागेको तरकारी बजारमा किसानहरुले आ आफ्नो कृषिजन्य उत्पादन विक्रि गरेका छन् ।
मंगलबार किसानहरुले भेडे खुर्सानी प्रतिकिलो १०० देखी १२०, सिमि १०० देखि ११०, टमाटर ७५ देखि ८० रुपैयामा विक्रि गरेको कृषि उपज बजार केन्द्रले जनाएको छ ।

यस्तै बन्दा गोभी ४० देखी ४८, फुल गोभी ८० देखि ९०, खुर्सानी ४० देखि ९०, काँक्रा १० देखि २०, तिते करेला ४० देखी ५०, कागती ८० देखि १२०, मुला २० देखी २५ रुपैयाँ प्रतिकिलोमा विक्रि भएको समितिका अध्यक्ष नेपालीले बताए ।

यसैबिच तीन महिनाको अवधिमा कपुकोटका किसानहरुले करिव ७ करोड रुपैयाँ हात पारेका छन् । वेमौसमी तरकारी तथा फलफुल विक्रिबाट कपुरकोेटमा ६ करोड ९८ लाख ३० हजार ८५२ रुपैयाँ भित्रिएको अध्यक्ष नेपालीले जानकारि दिए ।

गत जेठ २० गते देखी यहि भदौ २६ गते सम्मको रेकर्ड अनुसार कपुरकोट क्षेत्रबाट २० हजार ४४५ क्विन्टल भन्दा बढी तरकारि र फलफुल निकासि भएको छ ।

टमाटर विक्रिबाट मात्रै ३ करोड ८७ लाख ७५ हजार ३२४ रुपैयाँ, सिमिबाट १ करोड १७ लाख ६९ हजार ८८१ रुपैयाँ किसानहरुले हात पारेको कृषि उपज बजार केन्द्रले जनाएको छ ।

यस्तै ६७ लाख ५४ हजार ५०७ रुपैयाँ बराबरको फुल गोभी, १५ लाख ३३ हजार ६२२ बराबरको बन्दा गोभी, ४४ लाख २३ हजार १३० रुपैयाँ बराबरको भेडे खुर्सानी विक्रि भएको बजार केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<