सूचना सम्प्रेषण र सजगता

सल्यान २९ असार

पहिले पहिले ज्योतिषविज्ञानले गर्दै आएको भविष्यवाणि हिजोआज मौसस विज्ञान विभागले गर्दै आएको छ । जसरी प्राचीनकालदेखि नै ज्योतिष विज्ञानले विभिन्न आकाशिय पिण्डहरुको अध्ययन गरेर भविष्यवाणि गर्दैआएको छ, त्यसैगरी हिजोआज मौसम पूर्वानुमान शाखाले पनि विभिन्न प्रविधिको सहयोगमा मौसमको पूर्वानुमान गर्दै आएको छ । सयौं हजारौं वर्षपहिलेदेखिको अध्ययन र विश्लेषणलाई आधार मानेर गरिदै आएका भविष्यवाणिलाई कपोलकल्पित भन्नु राम्रो होइन र विज्ञानको अध्ययनसंगै हुने गरेको अहिलेको भविष्यवाणि अर्थात पूर्वानुमानलाई पनि महत्वहीन मान्नुहुदैन ।
प्रसंग यतिवेलाको वर्षा, बाढी र पहिरोको हो । मौसम पूर्वानुमान शाखाले अब देशभर भारी वर्षा हुनसक्ने भनेर संकेत दिइसकेको थियो । यस्तो अवस्थामा खोला किनारका बस्तीहरुमा बसोबास गर्नेहरु अँझ बढी सचेत हुनुपर्छ । जोखिमयुक्त घर र स्थानहरुबाट सुरक्षित स्थानमा पुग्नुपर्छ । बस्ती डुवानमा पर्ने क्षेत्रका जनताले सुरक्षित स्थान खोज्नुपर्छ । नातागोता, इष्टमित्र, भाइबन्धु लगायत सवैको सहारा माग्नैपर्दछ । तर यदि ज्योतिष र मौसमविज्ञान विभागजस्ता शास्त्र र तिनमा काम गर्ने विज्ञहरुको सूचनालाई वेवास्ता गर्ने हो भने यस्तै विनासकारी घटनाहरुबाट बढी क्षेती बेहोर्नुको विकल्प छैन । यतिवेला पनि सजगता अपनाएको भए केही कम क्षती हुन सक्दथ्यो ।
अर्कोतिर राज्यका आधिकारीक निकाय र जिम्मेवारीमा बसेकाहरुले जोखिममा बसेकाहरुलाई प्रभावकारीरुपमा सूचना दिन सक्नुपर्छ । सधैं झैं आज बादल लाग्नेछ भनेजस्तो मात्र नभै आज भारि वर्षा हुनेछ भन्ने संकेत पाएको अवस्थामा जोखिम क्षेत्रका जनतालाई सुरक्षित स्थानमा जाना वा लैजाना समेत राज्यका जिम्मेवार निकायहरुलाई घच्घच्याउनुपर्दछ । अँझ बाढी आउनुपूर्व धेरै पानी पर्दछ । यसरी पानी पर्ने संकेत मिल्नसाथ बस्ती डुवानमा पर्ने क्षेत्रका जनतालाई निरन्तर सूचना जारी गर्नुपर्दछ । कफ्र्यू लाग्नुपूर्व सुरक्षा निकायले माईकिङ गरेजस्तै जोखिमयुक्त क्षेत्रका जनतालाई सुरक्षित स्थानमा जाना या लैजान निरन्तर सूचना प्रवाह गर्नुपर्छ । किनकी बाढी आउने भनेको लामो समयको वर्षातपछि मात्रै हो । कहाँको वर्षातले कहाँ डुवानमा पार्दछ या कहाँको जमिनमा क्षति पुर्याउछ भन्ने कुरा जिम्मेवार, आधिकारीक र भरपर्दो निकायले सुसूचित गर्नुपर्दछ ।
त्यस्तै नागरिकहरुले पनि यस विषयमा पहिलेदेखि नै सजगता अपनाउनुपर्दछ । प्रत्येक वर्ष बाढी र जमिन कटानले क्षति पुर्याउदै आएका बस्तीहरुबाट अलि टाढा बस्नैपर्दछ । पहिलो कुरा ज्यान र दोस्रो कुरा मात्रै सम्पत्ति हो । त्यसैले खेतीबाली वा तरकारीहरु उत्पादन गर्ने भूमि भए पनि दिनभर काम गर्ने र रात्रीको समयमा वा खराब मौसम भएको अवस्थामा सुरक्षित स्थानमा जानुको विकल्प छैन । अर्को कुरा सूचना संयन्त्र यति प्रभावकारी हुनुपर्र्छ की वर्षातको समयमा नदि किनारमा समेत चौविसैघण्टा सुरक्षा संयन्त्र खडा गरी निरन्तर जनतालाई सूसूचित गर्नुपर्दछ । कतिपय अवस्थामा पहाडमा परेको पानीले तराई डुवान पर्ने भएकोले खोला बढेको समेत सूचना निरन्तर प्रवाह गरी जनतालाई सुसूचित गर्नुपर्दछ । यसरी नै सजगता अपनाउन सक्यो भने मात्र हामी बर्षातको कारण हुने बाढी, पहिरो र धनजनतको क्षति हुनबाट जोगिन सक्छौं । सूचना संयन्त्रको प्रभावकारीता र नागरिकहरुको सजगताबाटै धनजनको क्षति कम गर्न सकिन्छ । सवैले आ–आफ्नो क्षेत्रबाट सोच्न र जोगिने उपायहरुको खोजि गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<