अक्सिजनका लागि सहयोगी हातहरु थपिदै, जिल्ला अस्पताल सल्यानलाई ९ थान अक्सिजन सिलिन्डर सहयोग

बैशाख ३१, सल्यान ।
अक्सिजन अभावले कोरोना महामारीका विरामीहरु समस्यामा परेको खवरहरु विभिन्न समाचारमा आउन थालेपछि सहयोगी हातहरु अगाडि बढ्न थालेका हुन् । सामाजिक सञ्जालमा नेतृत्व तहको चर्को आलोचना हुुन थालेसंगै नेतृत्वको मात्रै भर पर्न नहुुने भन्दै विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु अगाडि सर्न थालेका हुुन् । हिजो शुुक्रबार मात्रै जिल्ला अस्पताल सल्यानलाई ९ थान अक्सिजन सिलिन्डर सहयोग गरिएको छ । सल्यान जेसिसले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको बताइएको छ । सल्यान जेसिसका अध्यक्ष एवं उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुको नेतृत्वमा जेसी दिपक बोहरा र जेसी गणेश विक लगायतको टोलीले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
श्रीनगर क्षेत्रमा रहेका खाली अक्सिजन सिलिन्डर जम्मा गरेर उनिहरुले नेपालगन्ज पठाइ भरेर सल्यान अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
यस्तै अस्पतालमा अक्सिजनको अभाव भएपछि सल्यानमा थालिएको सहयोग अभियानबाट ४ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । १ लाख ३३ हजार रकमबाट ४ वटा अक्सिजन सिलिन्डर प्रदान गरिएको अभियान्ता तथा पत्रकार सनत कुमार शर्माले जानकारी दिएका छन् ।
अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोगका लागि थालिएको सहयोग अभियानमा एक्यबद्धता जनाई विभिन्न व्यक्तिहरुको सहयोगबाट उठेको पैसाले अक्सिजन सिलिन्डर किनेर अस्पतालाई हस्तान्तरण गरिएको उनको भनाई छ ।

उक्त सहयोग अभियानको नेतृत्व पुर्व राज्य मन्त्री राजेन्द्र बहादुर शाह, केशव सिहं श्रैष्ठ, चन्द्र प्रकाश वली, नवराज शर्मा र सनत कुमार शर्माले गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस