सल्यानको बर्तमान साहित्य

लोकेश जलन

      नेपाली भाषाको उदगम् थलो जुम्लाको सिन्जाबाट नेपाली भाषा उदाए सगै उदाएको हो नेपाली साहित्य । नेपाली भाषा उत्पत्ति भएको करिब डेढ सय बर्ष यता नेपाली साहित्यले मारेको फड्को नेपाली साहित्यकारहरुको लागि निकै सुखद पक्ष हो । छोटो समयमै नेपाली साहित्यको धरातल यति मजबुत हुनु र अहिलेको बर्तमानमा नेपाली साहित्यले यो उचाइ चुम्नुको मुख्य देन साहित्यकारहरुको लगनशीलता, निरन्तर साधना, भोलिको चिन्तन नै हो ।
कवि भानुभक्त आचार्य नेपाली गजलका पिता मोतीराम भट्टले नेपालमा छरेको नेपाली साहित्यको बिउबाट उम्रिएका बेर्ना हुन राष्ट्र कवि माधब प्रसाद घिमिरे, स्वर्गीय लक्ष्मीप्रसाद देबकोटा । यिनै बेर्नाका सन्तान हुन यो बर्तमानका साहित्यकारहरु । जो तिनै बीउ तिनै बेर्नाको खनजोत, मलजल, गोडमेल, सिचाइ गरिरहेका छन् । जस्ले नेपाली साहित्यको धरातल हराभरा छ । यहीँ हराभरा भएका वृक्षहरुको एक वृक्ष हो सल्यान पनि । यहीँ एक वृक्षको हाँगा हुन सल्यानी साहित्यकारहरु । सल्यानि साहित्यको अघिल्लो पुस्तामा यो वृक्ष झन्डै सुकिसकेको थियो । जो दुखद विगत स्मरण गर्दा म आफै दुखिरहन्छु । यो वृक्ष सुकेको भए नेपाली साहित्यको आधा धरातल खडेरीमा पर्ने निश्चित थियो । बर्तमानको खुशी हो यो बृक्षले पछिल्लो पुस्ताबाट राम्रो हेरचाह राम्रो स्यारसुहार पाउनु, जस्ले साहित्यमा सुक्न लागेको सल्यानलाई पुनः हराभरा बनाइदिएको छ । अरु लाभा जन्माउने सक्ने बनाइदिएको छ । यो नेपाली साहित्यका लागि पनि थप उर्जा हो ।
अघिल्लो पुस्ताका अग्रजहरुले सल्यानको साहित्यका लागि केही गरेका हुन्, गर्न चाहेका पनि हुन । विडम्बना सल्यानको भौगोलिक विकटता चिठीको जमना, सञ्चार माध्यमको समस्या, राजनीतिक अराजकता यस्तै बिबिध समस्याको चपेटामा परेपछि सल्यानको साहित्य र सर्जक आफै सुक्ने अवस्था आइसकेको थियो । देश राजनीति अराजगबाट मुक्त संचार प्रविधिमा विश्वले मारेको फड्कोसगै पछिल्लो समय पछिल्ला युवा साहित्यकार पुस्ताहरुले भने सल्यानको साहित्य सल्यानका अग्रज साहित्यकारहरुलाई सुक्नबाट बचाउन ठुलो अहम भुमिका भिभाएका छन् ।
अन्य जिल्लाको साहित्यिक माहोलको जस्तो अझै तामझाम नभए पनि बिगत भन्दा सल्यानमा ९२%ले यो बर्तमानमा साहित्य गतिविधि बढेको छ । पछिल्लो पुस्ताका समकालीन साहित्यकारहरुले दीर्घकालीनका लागि जिल्लामा स्थापना गरेका विभिन्न साहित्य संस्थाहरुको आयोजनामा जिल्लाका विभिन्न ठाउँहरुमा संयुक्त रचना वाचन , एकल रचना वाचन, संयुक्त कविता वाचन, एकल गजल साँझ , साहित्य गोष्ठि, साहित्य प्रशिक्षण जस्ता क्रियाकलाप हुुदै आएका छन् ।

राप्ती अञ्चलको साहित्य इतिहासमै पहिलो गजल मेहफिल सल्यानमै आयोजना भएसगै महफिलका निरन्तर शृङ्खला, साहित्यका विभिन्न विधामा रहेर अनलाइन प्रतियोगिता समेत गर्दै आइरहेका छन् भने नेपाली साहित्य र सल्यानको साहित्यमा योगदान पुर्याएका विभिन्न साहित्यकारहरुलाइ समेत सम्मान, पुरस्कृत गरिरहेका छन् । माया, प्रेम, पिरति मात्र हैन साहित्यमा समाजका विकृति, बिसङ्गति, अन्याय, भ्रष्टाचार, राजनीति अराजक, सभ्य ब्यक्ति, सभ्य समाज, देशको अबस्था, देशको बेरोजगारी, महिनैपिच्छे बिदेशीने युवाशक्ति, रुढीबादी परम्परा जस्ता कुुराहरु साहित्यिक लेखनीभित्र समेटिएका छन् ।

समाजमा देखिने गलत संस्कार, हत्या हिंसा, बलात्कार जस्ता यावत् कुुराहरु जम्मै साहित्य विधाको सैद्धान्तिक नियम भित्र रहेर समेटिनु पर्छ भन्ने सिद्धान्तमा लागेका सल्यानी युवा पुस्ताको साहित्य लेखनी निकै सशक्त हुुँदै गएको छ भने राष्ट्रिय साहित्यकारका रुपमा समेत आफूलाई स्थापित बनाइसकेका र चर्चा बटुलिसकेका छन् । सल्यानको साहित्य संरक्षण गर्नमा दिनरात लागिरहेका बर्तमान साहित्य सर्जकहरुको छोटो समयको यो उपलब्धि निकै सराहनीय छ ! जिल्लाको साहित्य माहोल साहित्य चिन्तन र चिन्ता जिल्लाको स्थानीय सरकार, जनप्रतिनिधि, सरोकारहरुमा भने चासो, चिन्तन खासै देखिदैन ।
जिल्लाको कला, साहित्य, लेखक, सर्जकलाई स्थानीय सरकार र सरोकारहरुले ओझेलमा पारे जस्तै पारेका छन् । करोडौं बजेट विनियोजन हुदा पनि कुनै स्थानीय सरकारले साहित्यका लागि अहिलेसम्म ००.३५ सम्मको बजेट छुट्याइएको अवस्था छैन । जिल्लामा जिल्लाका लागि हुने गरेका साहित्यिक कार्यक्रमहरु यो पुस्ताले आफ्नो ब्यक्तिगत खर्चबाट गरिरहेका छन्, यसमा स्थानीय सरकार सम्बन्धित सरोकारवालाको चासो र ध्यान जान जरुरी छ ।
यसरी लेखकलाई छायामा पार्नु र स्थानीय सरकार एबं सरोकारवाला हरुले साहित्यकारहरु नचिन्नु, साहित्य नबुझ्नु र जिल्लाको साहित्यलाई प्राथामिकता नदिनु आफैमा लज्जास्पद बिषय हो । साहित्यको जगेर्ना, उत्थान, उजागर र विकासमा जुटिरहेको यो पुस्तासंग साहित्य नबुझेका साहित्यकार र लेखक नचिनेको स्थानीय सरकारले सहकार्य गर्न जरुरी छ । साथै अन्य सरोकारवालाले समेत आउदा दिनमा साहित्यका लागि सहकार्य गर्यो भने यहि पुस्ताले जिल्लाको साहित्यका लागि अझै दोबर उपलब्धि निश्चित गर्नेछ । साहित्यकार, सर्जक र लेखकहरुको अथक प्रयासहरुले विगत भन्दा निकै रौनकमा छ सल्यानको बर्तमान साहित्यमा ।

प्रतिक्रिया दिनुहोस