सल्यानका किसानहरु टिमुर खेती तिर आर्कषित

कोरोनाका कारण यस बर्ष खासै मुल्य नपाएको किसानको गुनासो

सल्यान, २८ असोज ।

मनग्य आम्दानी हुने भएपछि सल्यानका किसानले व्यावसायिक टिमुर खेती गर्दै आएका छन् । घरायसी प्रयोजनका लागि प्रयोग गर्दै आएका किसानहरु राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक खेतीमा लागेका हुन ।

स्थानीय सरकारले जडिबुटीको अनुसन्धान, विकास तथा खेती अन्तर्गत टिमुरलाई प्राथमिकताको सूचीमा राखेपछि किसानहरु टिमुर खेतीतर्फ आर्कषित हुँदै गएका हुन । ग्रामीण किसानहरुको जीवनस्तर उकास्न टिमुर निकै फलदायी रहेको बागचौर नगरपालिका ६ कोटबाराका कुल बहादुर वलीले बताए ।

गत वर्ष ७ क्विन्टल टिमुर विक्री गरेका वलीले यो वर्ष पनि ८ क्विन्टल जती हुने अनुमान गरेको बताए । सल्यानको हावापानी जडिबुटी खेतीका लागि उपयुक्त भएकाले आफूले पनि जडिबुटी खेतीमा लागेको छत्रेश्वरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम खड्काले बताए ।

जिल्लामा वार्षिक १७ करोड भन्दा बढीको टिमुर निकासी हुँदै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण निकासी नहुँदा यो वर्ष भने टिमुरले खासै मूल्य नपाएको व्यापारी हरी न्यौपानेले बताए । भारतका मुख्य कम्पनी डाबर र पतञ्जलीले माग नगरेपछि टिमुर थन्किएको उनको भनाई छ ।

अहिले प्रति केजि तीन सय रुपैयाँमा कारोबार भएको उनको भनाई छ । विगतका वर्षहरुमा ६ सय रुपैयाँ देखि ८ सय रुपैयाँ किलोसम्म गएको टिमुर कोरोनाका कारण मूल्य नगएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस