यसरी नै हुन्छ, युद्धको सुरुवात

कुनै पनि द्वन्द्व र युद्धका लागि दुवै पक्ष जिम्मेवार हुन्छन् । मुख्य कुरा सत्ताधारी र सत्ताको कुर्सिमा पुग्न दाउ खोज्नेहरुको लडाई नै हो । यो जहिले पनि चलिरहेकै हुन्छ । इतिहासमा कहिलेकाँही अपबादको रुपमा शासक वर्गले गरेको अत्याचारबाट स्वतस्फूर्त रुपमा जनता आन्दोलमा लाग्नुपर्ने हुन्छ । तर यो भनेको अपवादको रुपमा मात्रै हो । सत्तासीनहरुले सत्ता हल्लिने डरले सत्ताको विरोध गर्न नदिने रणनीति हुन्छ भने सत्ताको खोजिमा हिडेकाहरु जसरी पनि सत्ता ढाल्नैपर्ने दाउमा हुन्छन् । यसका लागि सत्तासीनहरुले गरेको जस्तोसुकै काममा पनि खोट लगाउनैपर्ने हुन्छ ।

झगडा र द्वन्द्वको निहु ठूलो चाहिदैन । जसरी हाम्रो गाउँसमाजमा व्यक्तिगत वा पारिवारिक झगडा हुन्छ, त्यस्तै प्रकारले राजनैतिक झगडा भइरहेको हुन्छ । खोट लगाउनेले पाइला पाईला, शब्द शब्द र स्वास प्रस्वासमा समेत खोट देख्दछन् । हेराई, बोलाई, हिडाई, उठाई, बसाई, खवाई, लगावाई सवैमा खोट भेटिन्छ । हेर्दा कोल्टे आँखाले हेरेको भैदिन्छ । बोल्दा प्याच्च बोलेको भैखिन्छ । उठ्दा, बस्दा, हिड्दा अरुलाई बेवास्ता गरेको भैदिन्छ । खाँदा कि त मिठो खान्छ, कि नमिठो खान्छ । मिठो खायो भने अरुलाई ठगेर खायो भने भैहाल्यो । नमिठो खायो भने खानै नपाउनेको सन्तान भने भैहाल्यो । जब दुवैथरीमा त्यस्तै भावना उत्पन्न हुन्छ, त्यसपछि त्यो झगडा साम्य पार्न छिमेकीलाई समेत हम्य हम्य पर्छ ।

राजनैतिक लडाई पनि त्यस्तै हो । एकथरीलाई जसरी पनि अर्काको सत्ता ढालेर आफू सत्तामा जानुछ, अर्कोलाई सत्ताको साँचो अरुलाई मरिगए पनि दिन मन छैन ।

यति भैसकेपछि एक अर्कामा भनाभन चल्छ वा वाद प्रतिवाद सुरु हुन्छ । भाषणमा आलोचना, कतै चिया पशलमा आलोचना, कतै गाउँ समाजमा हुने भेला र कार्यक्रममा आलोचना हुँदै प्रतिपक्षले आलोचनाको खेती नै सुरु गर्छ भने सत्ता पक्ष पनि डराउदैन । सत्तापक्षसंग राष्ट्रसेवक छन्, प्रहरी छ, सेना छ, अपबादबाहेक सञ्चार छ, न्यायालय छ र सत्तामा भएकै कारण अन्तर्राष्टिय शक्ति पनि छ । तर पनि सत्ताबाट लाभ नपाउनेहरुको ठूलो जमातले जहिलेपनि सत्ताको आलोचना गरिरहेको हुन्छ । हो, तिनैको आडमा प्रतिपक्ष वा सत्ताका विरोधी तत्वहरुले आफ्नो सत्ताको राजमार्ग बनाउन लागि पर्छन् । अहिले भएको त्यहि नै हो ।

जब संघर्ष र युद्धको मनस्थिति बन्छ वा झगडा र लडाई नै गर्न ईच्छा  छ भने अनेक खाले उपायहरु रच्न सकिन्छ ।
एकले अर्कोलाई दोषी देखाउन वा एकअर्कामा निहु खोज्न र जनतालाई साँछि राख्न सवै खप्पीस नै हुन्छन् । त्यहि क्रममा एउटाले नराम्रो दृटिले हेर्छ वा गाली गर्छ, चिमोट्छ या धम्क्याउँछ । अर्कोले धक्याईदिन्छ, हुत्याइदिन्छ । एउटाले लठ्ठीले प्रहार गर्छ, अर्कोले हतियार वा जे भेटिन्छ, त्यसैले प्रहार गर्छ । नसके भूमिगत भएर धम्क्याउन थाल्छ । दिउसो नभए राती आक्रमण गर्छ । एउटाले कारबाहीको लागि पक्राउ या अपहरण गर्छ । अर्कोले गोली प्रहार गर्छ या चरम यातना दिन्छ । हुँदा हुँदा कोहि मर्छन्, कोहि घाईते हुन्छन् । कोहि पक्राउ पर्छन, कोहि जेल पर्छन् । यसरी नै द्वन्द्व, संघर्ष, आन्दोलन या युद्धले ठूलो रुप लिने गर्दछ ।

त्यसपछि दुवैपक्ष अलि थकित भएपछि बार्ताका लागि आह्वान हुन्छ । अनि बार्तामा विभिन्न शर्तहरु राखिन्छन् । पक्राउ परेकालाई रिहाईको, घाईतेलाई उपचारको, मृतकका परिवारलाई क्षतिपूर्ति र सहिद घोषणा, सहिद परिवारलाई रोजगारी आदि ईत्यादी । राज्यपक्षले पनि, अपहरितलाई मुक्त गर्नुपर्ने, कब्जा गरिएको सम्पत्ति फिर्ता, हतियार फिर्ता, शान्ति प्रक्रियामा आउनुपर्ने लगायत विभिन्न प्रतिवद्धता गराउँदै सरकारको तर्फबाट गर्न सकिने सवै प्रकारको सेवा दिने प्रतिबध्दता समेत गर्दछ ।

लाटा सोझा जनतालाई यो सत्ता र कुर्सीको लडाई हो भनेर बुझ्न लामो समय लाग्छ । जब जनताले स्पष्ट बुझ्नेछन्, त्यतिवेला मात्रै आफ्नो अमूल्य समय र अमूल्य जीवनको महत्व बुझ्छन् । जनता लाटा हुन्जेल नेतृत्वले प्रयोग गरिरहन्छ । अतः युद्ध र कारबाहीको उदेश्य र अन्तिम लक्ष्य भनेको सत्ता, सत्ता र फेरी पनि सत्ता नै हो । सत्ता बाहेक अरु सवै कुराहरु केवल भ्रम नै हुन् । सत्ता प्राप्ति हुनुभन्दा अघि जति पनि क्रियाकलाप हुन्छन्, ति आन्दोलन र संघर्षका रणनीति हुन्, योजना हुन्  र संघर्षका कार्यक्रमको रुपमा गनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

<