दाङमा लकडाउन खुकुलो, सोमबारदेखि सार्वजनिक सवारी साधन चल्ने

दाङ, २८ भदौँ ।
दाङमा दुई हप्ता जारी गरिएको निषेधाज्ञा (बन्दाबन्दी) खुकुलो भएको छ । अब सार्वजनिक सवारी साधन समेत चल्न पाउने भएका छन् भने सबै किसिमका ब्यापार ब्यवसायहरु पनि खुल्ने भएका छन् ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अब विहान ६ बजेदेखि साँझ ७ बजेसम्म सबै किसिमको ब्यापार ब्यवसाय संचालन गर्न पाउने, जिल्ला भित्र जोरविजोर प्रणाली अन्र्तगत निजी तथा सार्वजनिक यातायात संचालन गर्न पाउने, सबै किसिमका सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाहरु सिमित कर्मचारीको ब्यवस्था गरी खोल्न पाउने निर्णय गरेको छ ।

बैठकले अत्यावश्यक स्वास्थ्य संस्था, खाद्यबस्तु साँझ ७ बजेपछि खोल्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनुभयो ।

त्यस्तै साँझ ७ बजेदेखि विहान ६ बजेसम्म अनुमति लिएका र मालबहाक बाहेक अन्य सावारी साधन पनि चल्न नपाउने उहाँले जानकारी दिनुभयो । यदि यो नियम उल्लंघन गरेमा कानुन बमोजिम कार्वाही हुने रिजालको भनाई छ ।

दाङमा कोरोना समुदाय स्तरमा फैलिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले भदौ १४ देखि २१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको थियो ।

त्यसपछि जिल्ला सुरक्षा समितिले २१ गतेदेखि २८ गते राती १२ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेको थियो । यस बीचमा कोरोना परिक्षणको दायरा बढाउने भनिएको भए पनि त्यति धेरै परिक्षणको दायरा नबढाएको सरकारवालाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

<