राजा हुने रहर

यतिवेला विभिन्न जिल्लाहरुमा राष्ट्रपति रनिङशिल्ड चलिरहेको देखिन्छ । ठुलावडाको नाम जोड्दै आफ्नो क्षेत्रको पनि चौतर्फि विकास गर्ने सोच र परिपाटी पुरानै हो र राम्रै पनि । काम जसले गरेपनि नाम भने ठुलाबडाकै राख्नुपर्ने चलन पनि पुरानै हो र जो अहिले पनि सान्दर्भिक नै भईरहेको छ । कुनै समय रेडियोबाट राजाका महाबाणीहरु दिनहु सुन्न पाईन्थ्यो, या त राजैले तयार गर्थे या राजाका तलबी कामदारले थाहा हुदैनथ्यो । एकताका राजाकै नामबाट खेलहरु खेलिन्थ्यो, तर हिजो आज राष्ट्रपतिका नामबाट खेल खेलिन्छ । तर नाम जे भएपनि देशका सवैभन्दा ठूला र सम्मानीत पद तिनै हुन् ।

राजा भन्ने नामै पनि कति प्यारो रहेछ, विभिन्न कथाहरुमा पनि राजाका बडो सानदार दृष्य र कथाहरु देख्न र पढ्न पाईन्छ । त्यति मात्रै होईन कतिपय साना केटाकेटी पनि राजा रानीको खेल खेल्छन् र अभिनयकर्ताहरु पनि राजाको खुबै नक्कल गर्छन् ।

ईतिहासमा बाइसे चौबिसे राज्य र छोटेराजाहरु भएको कुरा हामीले पढ्ेकै हौं । राजा भनेपछि सवैभन्दा ठूलो मान्नुपर्ने, मान सम्मान र सेवा सुरक्षाले घेर्नुपर्ने चलन अनौठो पनि होईन । तर हिजो आज अनौठो कुरा के हुँदैछ भने मुलुक संघीय संरचनामा गईसकेपछि ७५३ वटै स्थानीय तहहरुले आफु नै सर्वोच्च निकाय हौं भन्ने जसरी प्रस्तुत भईरहेको देख्न सकिन्छ । अँझ त्यति मात्रै पनि होईन, कतिपय वडा तहले पनि त्यस्तै भूमिका निर्वाह गर्न खोजेको देखिन्छ । आम नागरिकहरुका लागि भने यो हाँसो उठ्दो अवस्था छ । एउटै राजा पाल्न नसकेर सडकमा उत्रेको जनता फेरी गाउँ गाउँमा राजा पाल्नुपर्दा कति दिन पो पाल्न सकिएला, चिन्ता र हाँसो दुवै थपिएको छ ।

राष्ट्रपति रनिङशिल्डको तामझाम देख्दा हिजोआज आम नागरिकहरु पनि अनौठो मानिरहेका छन् । मानौं कि राजधानी को शैंनिक मञ्चमा प्रधानमन्त्रि वा राष्ट्रपतिले सेनालाई सलामी गरेझैं दृष्य स्थानीय सरकार प्रमुखहरुले देखाईरहेका छन् । नागरिकले यस्तो महशुस गर्दैछन् कि अहिले स्थानीय सरकार प्रमुखहरु श्री ३ वा श्री ५ सरह नै हुन् ।

यसरी आखिर सवैलाई राजै हुन रहर लाग्दोरहेछ भने एउटा राजाको त्यति धेरै विरोध गर्नुपर्ने अवस्था देखिदैन । भोलि मुलुकले ७५३ वटा राजा र राजसंस्थाको खर्च धान्न नसक्ने अवस्थामा फेरी यीनै राजनैतिक पार्टीहरुले अब आउनुहोस् सरकार फेरी देश समाल्नुहोस, हाम्रो रहर मेटिसक्यौं भन्न पनि के बेर ।

सवैलाई राजा हुने र राजाकै जीवनशैली मन पर्ने हो भने जनताले पनि राज्यबाट थप आशा राख्दै पर्ने हुन्छ । त्यस प्रकारको तामझाम बेहोर्न सक्ने राज्यले नागरिकहरुका लागि गास बास र कपासको न्यूनतम व्यवस्था किन गर्न नसक्ने ? नागरिकहरुले त्यति धेरै ठूलो अपेक्षा पनि गरेका छैनन् । सरकारले उद्योग व्यवशाय सञ्चालन गर्न सहयोग गरिदिनुपर्यो, हामी काम गरिखान्छौं त भनेका छन् । प्रत्येक नागरिकलाई राज्यले रोजगारी दिनुपर्यो । राजा भएर बस्नु परेन तर काम गरेर सुखसित बस्न त पाउनुपर्यो । न्यूनतम शिक्षा, स्वास्थ्य, आवास र मनोरञ्जन त नागरिकहरुलाई पनि त चाहियो । नागरिकहरुलाई यति भए पुग्छ, सरकार यसमा ध्यान दिनै पर्यो । देशमा जे जति स्रोत र साधन छ, त्यसको केहि अंश यो देशका आम नागरिकहरुको लागि पनि त चाहियो । फजुल खर्च गर्न पैंसा पुग्छ भने उद्योगधन्दा खोल्न किन नपुग्ने, जसरी हुन्छ, नागरिकहरुलाई उत्पादनमूखि काम चाहियो सरकार । बरु महासयहरु राजै भएर बस्नुहोस् । तपाईहरु आफ्नो रहर पुरा गर्नुहोस् , तर जनताका रहरहरुबारे पनि सोचिदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस

<