चैत ३०, काठमाडौं ।
साउदी अरेबियाले अनिश्चितकालसम्मका लागि मुलुकभर लगाइएको कर्फ्यु बढाउने निर्णय गरेको छ ।
अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।
साउदीले गत साता रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो । यी सहरमा २४ घण्टा नै कर्फ्युको घोषणा गरिएको हो ।
यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान छ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ ।
शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने तथा मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ ।
साउदी अरेबियामा अहिलेसम्म कोरोना भाइरसको कारण चार हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस