सरकार ! सडक छिटो मर्मत गर्नुपर्यो ।

सडक विकासको पहिलो पुर्वाधार हो । सडक फराकिलो र राम्रो भयो भने मात्र सवै क्षेत्रको विकासमा टेवा पुग्दछ । यतिवेला दाङ सल्यान सडकखण्डमा सवारी दुर्घटना निकै बढेका छन् । दुर्घटनाको प्रमुख कारण अहिले सडक नै भएको नागरिकहरुको बुझाई छ । साँगुरा सडक हुनु र भएका सडक पनि सधैं खाल्डाखुल्डी हुनु दुखदायी कुरा भएको छ ।

हुनत सडक दुर्घटनाका कारण तिब्र गति, चालकको लापरबाही , मादक पदार्थको सेवन, लामो दुरीको यात्रामा चालकको थकाई र निद्रा लगायतका अन्य कारणहरु समेत भएता पनि मूल रुपमा सडकको कमजोर अवस्था नै हो ।

केहि महिना पहिले शैक्षिक भ्रमणमा मुलपानी बनस्पती क्षेत्रमा आएर फर्किने क्रममा दाङको राम्री नजिकै बस दुर्घटना भयो र एकैपटक २३ जनाको मृत्यु भयो । एउटा प्राविधिक कलेज नै रित्तियो । यसको कारण पनि सडकको खाल्डा छल्नेक्रममा बस छेउतिर पुग्दा घटना भएको नागरिकहरुको बुझाई छ । कारण अरु पनि होलान् ता पनि एउटा मूख्य कारण त्यहि नै भएको देखिन्छ । अहिले पनि सडक मर्मतका नाममा जताततै खाल्डा बनाउने र समयमा नपुर्ने गरेका कारण घटना बढेका छन् भनेर नागरिकहरुले गुनासो गरिरहेका छन् । भर्खरै मात्र श्रीनगर बजार नजिकै रहेको शान्ति नगरमा भएको टेक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यसको पनि मूल कारण सडकको खाल्डो नै भएको स्थानीय नागरिकहरुको बुझाई  छ । सहायक कारण अरु पनि होलान् ता पनि मुख्यतया खाल्डाखुल्डी सडककै कारण भएको जोकसैले पनि अनुमान लगाएका छन् । यी घटनाहरु केहि उदाहरण मात्रै हुन्, दर्जनौं घटनाहरु सडकको कमजोर संरचनाकै कारण भएका छन् ।

दाङदेखि रुकुम जोड्ने यति महत्वपूर्ण सडकको अवस्था अहिले निकै नाजुक छ । सडक साँगुरो भएर केवल साईड दिन सम्म पनि नपुग्ने अवस्था छ ।  दुईवटा गाडि सम्म पनि नअटेर व्याक गर्नुपर्ने अवस्थाले चालकहरुलाई पनि समस्या छ । झन त्यसमा पनि कहिलेकाँही ओभरटेक गरेर अगाडि बढ्न खोज्दा ठाउँ नै नपुगेर पछिपछि धुलो खाँदै दौड्नुपर्ने अवस्था छ । साना साना गाडिले समेत पछि पछि धुलो खाँदै दौड्नुपर्ने अवस्था छ । तिब्र गतिमा अगाडि दौड्नुपर्ने गाडिले कतिपय अवस्थामा ओभरटेक गर्नु  अस्वभाविक पनि होईन । तर यात्रु तान्नैका लागि गरिने अस्वस्थ ओभरटेक भने राम्रो मानिदैन ता पनि सामान्यतया ओभरटेक गर्ने वा साईड काट्नै नपुग्ने सडक हुनु भनेको लाजमर्दो अवस्था हो ।
यता सडकका लागि बर्षेनी ठूलो बजेट विनियोजन गरिएको भन्ने सुनिन्छ । यसै आ.ब.मा कार्यान्वयनमा जाने गरी ४९ करोड बजेट विनियोजन गरिएको समाचार बाहिर आएकै हो, तर चालु आ.ब.को दोस्रो चौमासिक वितिसक्दा पनि त्यसको काम कहाँ हुँदैछ, नागरिकहरु बेखवर छन् । यसरी कामको गति निकै सुस्त रहेको पाईन्छ । नागरिकहरुलाई लाग्छ, बजेट छुटिन्छ, तर गुणस्तरीय काम कहिल्यै हुँदैन । गुनासो गर्ने निकाय पनि आम नागरिकलाई थाहा छैन र सुन्नुपर्ने निकायले पनि सुन्दैन । अतः सरकारसमक्ष आम नागरिकहरुको माग छ, कि सडक फराकिलो पार्ने वा मर्मत गर्ने काम जति सक्यो छिटो हुनुपर्छ । सडक राम्रो भएपछि मात्रै खानेपानी, विद्युत, सिंचाई, ठूला ठूला भवन र संरचनाहरु निर्माण लगायतका सवै कामले गति लिनेछन् । अहिले तत्कालका लागि पहिलो प्राथमिकता दाङदेखि मुसिकोट र चौरजहारी जाने सडक बाटो राम्रो बनाउन जरुरी छ र त्यसपछि सल्यानदेखि प्रदेश राजधानी सुर्खेत जोड्ने सडकहरु निर्माण तथा मर्मतमा सरकार लाग्नुपर्छ । यसमा कत्ति पनि ढिला नगरी काम अगाडि बढाउन जरुरी छ । सरकार कानमा तेल हालेर नसुतोस् । नागरिकहरुमा आक्रोस् चुलिने बातावरण नबनोस् । सम्बन्धित सरोकारवालाहरुमा अलि तातो लागोस् ।

प्रतिक्रिया दिनुहोस

<