सुर्खेतमा प्रदेशस्तरीय युवा सम्मेलन

सुर्खेत, २७ पौष । 
सुर्खेतमा प्रदेशस्तरीय युवा सम्मेलन सुरू भएको छ । कर्णाली प्रदेशभित्रका करिब २०० जना युवाहरुको सहभागितासहित आइतबारदेखि वीरेन्द्रनगरमा प्रदेश सम्मेलन सुरु भएको हो ।

सम्मेलनले युवाहरुको विषयमा रणनीतिक कार्ययोजना बनाउने नेपाल युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजीत सुनारले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा युवासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ । युवाहरु आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि सम्मेलनबाट कार्ययोजना तयार पारिने संयोजक सुनारले जानकारी दिए ।

‘केन्द्र सरकारलाई ऋण दिनेगरी लागौं’

युवा सम्मेलनमा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले केन्द्र सरकारलाई ऋण दिन सक्ने वातावरण बनाउनेगरी लाग्न युवाहरुलाई आग्रह गरे।

उनले अझ पनि केन्द्रले कर्णालीलाई हेपेको गुनासो गर्दै कर्णाली प्रदेशबाट केन्द्र सरकारलाई निव्र्याजी ऋण दिने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले पनि केन्द्रीय शासन प्रणालीलाई हेर्ने हो भने कर्णालीलाई हेपिएकै पाइएको छ,’ मन्त्री भण्डारीले भने, ‘अब प्रदेश सरकारको अगुवाईमा युवाले नयाँ कुराको सिर्जना गरी बदला लिनुपर्छ, भोलिका दिनमा केन्द्र सरकारलाई कर्णाली सरकारले निव्र्याजी ऋण दिन सक्नुपर्छ।’

मन्त्री भण्डारीले राष्ट्रलाई समृद्ध बनाउन जनताले पनि सपना देख्नुपर्ने बताए । ‘राष्ट्र समृद्धिको सपना जनताले पनि बोकेर हिँड्नुपर्छ, सरकारले त अगुवाई मात्र गर्ने हो,’ उनले भने, सरकारले सबै कुरा एक्लै गर्ने होइन ।’

कर्णाली प्रदेशमा भएको गरिबीलाई अन्त्यका लागि सोच्न जरुरी रहेको बताउँदै मन्त्री भण्डारीले प्रकृतिले दिएका अतुल्य उपहारलाई सदुपयोग गरेर गरिबी अन्त्य गर्न सकिने औंल्याए। उनले विदेसिन लागेका युवालाई स्वदेशमै काम गर्नेगरी रोक्न युवाले भूमिका खेल्नुपर्नेमा जोड दिए।

मन्त्री भण्डारीले भने, ‘तपाईहरुले योजना बनाउनुस्, छिमेकी मुलुकका युवाहरुलाई पनि रोजगारीका लागि कर्णालीमा आउनका लागि आवेदन माग गर्न सक्ने बनाऔं ।’

सुखी नागरिक र समृद्ध राष्ट्रको परिकल्पना पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहने मन्त्री भण्डारीले बताए। उनले नयाँ युग अनुसारका राज्य व्यवस्था कार्यान्वयन गर्नका लागि महत्वपूर्ण जिम्मेवारी सम्झेर अघि बढ्न युवाहरुलाई सुझाए ।

प्रतिक्रिया दिनुहोस

<