कर्णाली प्रदेश सरकारबाट भएका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न

सांसद समितिबाट कर्णालीमै पहिलो पटक अनुगमन

सल्यान, २७ पौष ।

कर्णाली प्रदेश सरकारबाट भएका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण कर्यक्रम सम्पन्न गरिएको छ ।

कर्णाली प्रदेशकी सांसद सिता नेपालीले प्रदेशले आफ्नो ब्राण्ड सहितको उद्योग स्थापना गनुपर्नेमा जोड दिनु भएको छ ।

विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षणका क्रममा शनिवार सल्यान पुगेकी प्रदेश सभा सदस्य नेपालीले यस्तो बताउनु भएको हो ।

उहाँले दक्षजनशक्ति अभावका कारण अहिलेपनि परम्परागत तरिकाले उद्योगहरु सञ्चालन भैरहेको बताउदैँ दक्ष जनशक्तिको व्यवस्थापन गर्दै कर्णाली प्रदेशले आफ्नै ब्राण्ड सहितको उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश सभा सदस्य तथा कर्णाली प्रदेशका प्रमुख सचेतक नेपालीले राज्यले व्यक्तिगत भन्दा पनि सामुहिक लगानीमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले व्यक्तिगत रुपमा गरिएको लगानीमा रोजगारीको सृजना अत्यन्तै कम हुने भएकाले सहकारी र समुह मार्फत संचालन भएका उद्योगहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । अनुगमनका क्रममा यहाँ आधुनिक औजारको प्रयोग गर्ने सिप भएका दक्ष जनशक्तीको कमी रहेको पाइएको बताउँदै उहाँले दक्ष जनशक्ती उत्पादनका लागि सिप मुलक तालिमको आवश्यकता रहेको बताउनुभयो ।

आधुनिक प्रविधि संगै आधुनिक कामदार पनि आजको आवश्यकता रहेकोमा उहाँको जोड थियो । प्रदेश सरकारले विनियोजन गरेको बजेट सही ठाउँमा प्रयोग भए नभएको र हाल अनुदान पाएका उद्योगहरु स्टमेट अनुसार संचालन भए नभएको बारे अनुगमन गरि प्रतिवेदन प्रदेश सभामा पेश गर्ने उहाँले बताउनुभयो ।

यस्तै अर्का साँसद अमृता शाहीले प्रदेशले थालेको यस अभियानको शुरुवात सल्यानबाट भएको बताउनुभयो ।

प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका योजनाहरु सम्पन्न भएनभएको, बजेटको सदुपयोग, बिगत र अहिलेको अवस्था र गरिएका कामहरुको दिगोपना लगाएका विषयमा सल्यानबाट अनुमगन शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा जिल्ला स्थित उद्योगीहरुले आफुले संचालन गर्दै आएका उद्योगहरुको दायरा फराकिलो बनाउन राज्यले अझै उद्योग क्षेत्रमा लगानी गर्नुपर्ने माग राखेका छन् ।

सल्यानको श्रीनगरमा सचालनमा रहेको सफल गार्मेन्ट उद्योगका संचालक जालना भण्डारीले महिला उद्योगीहरुका लागि पनि विभिन्न अवसर हरु रहेकाले यस कार्यमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले अहिले प्रदेश सरकार र आफ्नो व्यक्तिगत करिब ३० लाख बढी लगानीमा गार्मेन्ट उद्योग संचालनमा रहेको बताउँदै ठुला उद्योग संचालन गर्न आधुनिक सिप भएका दक्ष कामदारको कमी भएको जानकारी दिनुभयो  ।

हाल संचालनमा रहेका गार्मेन्टलाइ अझैं बृहत बनाएर सेवा दिने उद्देश्य रहेको बताउँदै उहाँले यसमा स्थानीय देखी प्रदेश र केन्द्रीय सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

टोलीले जिल्लामा खुकुरी उद्योग, तारजाली उद्योग, गार्मेन्ट उद्योग, फर्निचर उद्योग, ग्रिल उद्योग, सडक लगाएतका प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गरेको जनाएको छ ।

जसमा खलंगा बालुवासंग्रही सडक, खलंगा, श्रीनगर, थारमारे, सल्लीबजार लगाएतका स्थानमा सञ्चालित उद्योगहरुको अनुगमन गरिएको टोलीमा संलग्न सविल इन्जिनियर सुरेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

अर्थ तथा प्राकृतिक स्रोत समिसतबाट आएको अनुगमन टोलीले रुकुम पश्चिममा पनि प्रदेश सरकार अन्र्तगत अनुदान प्राप्त उद्योग अनुगमन गर्ने उहाँको भनाइ छ ।

पहिलो चरणमा सल्यान, रुकुम पश्चिम र सुर्खेतमा संचालित उद्योग अनुगमन गरि प्रतिवेदन पेश गर्ने अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<