कोरोना बीमा भुक्तानी धमाधम

 

काठमाडौँ, २६ कात्तिक ।

कोरोना संक्रमितलाई भुक्तान गर्नुपर्ने बीमाङ्क रकम तत्काल उपलब्ध गराउन सरकारले निर्देशन दिएपछि बीमा रकम धमाधम भुक्तानी हुन थालेको छ ।

बीमक सङ्घका महासचिव चङ्की क्षेत्रीका अनुसार सरकारको निर्देशनपछि सरकारी वा निजी जुनसुकै प्रयोगशालाको रिपोर्टका आधारमा तोकिएको बीमाको रकम उपलब्ध गराउन थालिएको छ ।

महासचिव क्षेत्रीका अनुसार अहिलेसम्म दुई हजार छ सय जनालाई बीमा रकम उपलब्ध गराइसकिएको छ भने तिहारअघि करिब दुई हजार चार सय बीमितको रकम भुक्तानी गरिसकिने छ । रकमको आधारमा हेर्दा करिब १७ करोड रुपियाँ भुक्तान भइसकेको छ ।

बीमा कम्पनीहरूले बीमाको प्रिमियमबापत करिब एक अर्ब रुपियाँ सङ्कलन गरेको बीमक सङ्घले जनाएको छ । कोरोना बीमा गरेकामध्ये करिब १५ हजार सङ्क्रमितको बीमा दाबी भुक्तानीको निवेदन बीमा पुलमा पुगेको छ ।

तीमध्ये करिब तीन हजारले उपलब्ध गराएको कागजपत्रको अध्ययन भइसकेको महासचिव क्षेत्रीले बताउनुभयो । पुलमा आइपुगेका बीमा दाबी भुक्तानीका कागजात हेर्दा करिब १६ वटा दाबी भने दोहोरो बीमा गरिएको पाइएको महासचिव क्षेत्रीले बताउनुभयो ।

बीमा समितिले गत वैशाखदेखि नै निर्जीवन बीमा कम्पनीमार्फत बीमा गर्न थालेको हो । यस्तो बीमा व्यक्तिगत वा संस्थागत रूपमा गर्न सकिने छ । समितिले एक लाख र ५० हजार बीमाङ्क दरको बीमा योजना ल्याएको छ ।

एक लाख बीमाङ्कको बीमा गर्दा प्रतिव्यक्ति एक हजार रुपियाँ र एकाघरका परिवारको सम्पूर्ण सदस्यको बीमा गरेमा प्रतिव्यक्ति छ सय रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै कार्यालयले आफ्ना सम्पूर्ण कर्मचारीको सामूहिक बीमा गरेमा प्रतिव्यक्ति छ सय रुपियाँ शुल्क तिरेर बीमा गराउन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

<