विद्युत् आयोजनाका समस्या समाधान हुँदै

काठमाडौँ, २६ कात्तिक ।

विकासको विभिन्न चरणमा रहेका जलविद्युत् आयोजनामा कोरोना महामारी र बन्दाबन्दीका कारण परेको प्रभाव र त्यसको समाधान निकाल्न सरकारले सक्रियता बढाएको छ ।

समस्याको पहिचान र समाधानको उपाय खोज्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न सरोकारवालासमेत राखेर गठन गरेको अध्ययन तथा सिफारिस कार्यदलले कामलाई तीव्रता दिएको हो ।

गत भदौ २१ मै समिति गठन भए पनि मङ्गलबार दोस्रो बैठकमा खास विषयवस्तुमाथि छलफल थालिएको हो । मन्त्रालयका उपसचिव मधुप्रसाद भेटवाल संयोजक रहेको समितिमा राष्ट्रिय योजना आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)लगायत सरोकारवाला निकायका अधिकारीहरू सदस्य छन् ।

कोभिड–१९ का कारण सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले उपकरणको सामयिक मर्मतसम्भारदेखि विद्युत् खपत घटेर बिजुली खेर फाल्नुपर्ने अवस्था आएको थियो । त्यस्तै बाढीका समयमा भएको क्षतिको मूल्याङ्कन र क्षतिको विवरणसमेत लिन बीमकहरू आयोजना स्थल पुग्न नसक्दा पनि नोक्सानी सहनुपरेको उत्पादकको जिकिर छ ।

त्यस्तै निर्माणको चरणमा रहेका आयोजनामा कामदार तथा विज्ञको आपूर्ति गर्न, विस्फोटक पदार्थ तथा निर्माण सामग्री ढुवानी तथा भण्डार गर्नलगायतका समस्याले अपेक्षाको २५ प्रतिशत मात्र काम हुन सकेको बताइएको छ ।

त्यस्तै निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको परीक्षण तथा सुपरिवेक्षण सञ्चालनका लागि विदेशीविज्ञ ल्याउन नसक्दा पनि आयोजना पछि धकेलिएका थिए ।

त्यस्तै सर्वेक्षण अनुमति लिएर बसेका आयोजनाले आफ्नो अध्ययन कार्य पनि गराउन समस्यामा परेको, वन तथा वातावरणका विषयमा सरकारी निकायमै फाइल रोकिएकोजस्ता समस्या भोग्नु परेको समस्या निजी उत्पादकले दर्शाएका छन् ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार बैठकमा कानुनी, नीतिगत, प्रक्रियागत तथा प्रशासनिक सुधार जे उपयुक्त हुन्छ त्यस्ता विधि उपयोग गरेर समाधान गर्नेगरी छलफल भएको छ ।

इप्पानले लिखित रूपमै समाधानका उपायसमेत पेस गरेको छ । सञ्चालनमा रहेका तथा निर्माणाधीन, प्रभावित आयोजनालाई पनि पुनर्कर्जा कोषको सहुलियतपूर्ण ऋणका लागि सिफारिस गर्ने, निर्माणको अवधि थप गर्ने, उत्पादन अनुमति पत्रको म्याद दुई वर्ष थप गर्नेलगायतका सुझाव उसको छ । त्यस्तै सर्वेक्षण अनुमतिको अवधि पनि दुई वर्षसम्म थप गर्नुपर्ने सुझाव उसको छ ।

प्रतिक्रिया दिनुहोस

<