आफ्नै जग्गा नहुँदा स्वास्थ्य संरचना बनाउन समस्या

सल्यान, २७ साउन ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ५ रीममा स्वास्थ्यचौकीका लागि आफ्नै जग्गा नहँुदा स्वास्थ्य सम्बन्धिका संरचनाहरु निर्माणमा समस्या देखिएको छ ।

मंगलबार मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र ‘हरप्लेस’ को पारस्परीक जवाफदेहिता परियोजना अन्तर्गत हेड नेटवर्कमार्फत स्वास्थ्यचौकीको अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा विविध कुराहरु जानकारी दिइएको छ ।

स्वास्थ्यचौकिको आफ्नै जग्गा नहुदा उचित संरचना तयार हुन नसकेको र शौचालयको पनि राम्रो व्यवस्थापन हुन नसकेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी टिकाराम न्यौपानेले जानकारी दिए ।

जग्गा अभावमा उपयुक्त भवन नहुदा महिला, पुरुष, विरामी, सेवाकर्मी लगायत सवैको लागि एउटै शौचालय प्रयोग गर्नुपरेको जानकारी दिए ।

उनले भने ‘अरु सवै व्यवस्थापन राम्रो भएपनि भवनको उपयुक्त संरचना तयार नहुदा केही कठिनाई हुने गरेको छ ।’

उनले स्वास्थ्य सेवाबारे जानकारी दिदै कोरोना महामारीको समयमा पनि स्वास्थ्य चौकिबाट दिनुपर्ने सेवा नियमित रुपमा प्रवाह भईरहेको, दिनमा सरदर ३०–४० जना सेवाग्राहीले सेवा लिईरहेको र सेवा प्रवाहका विषयमा गुनासो नभएको जानकारी दिए । उनले कार्यरत जनशक्तिको समस्या नभएको र स्वास्थ्यचौकीमा हुनुपर्ने औषधिको पनि कमी नभएको जानकारी दिए ।

अनुगमनको क्रममा स्वास्थ्यचौकिबाट सेवा लिनेहरुको संख्या बढेको, नियमित खोप लगाउने कुरामा आमा समूहका सदस्यहरु जानकार रहेको पनि न्यौपानेले जानकारी दिए । त्यस्तै घरमै बच्चा जन्माउने दर घटेको पनि उनले जानकारी दिए ।

तर बच्चाको नियमित तौल लिने कुरामा अँझै पनि बेवास्ता भईरहेको पनि छलफलको क्रममा जानकारी दिइयो ।

त्यस्तै परिवार नियोजनका साधनको प्रयोगमा बृद्धि भएको, सुरक्षित मातृत्व सम्बन्धि जानकारी दिने गरेको र धेरैलाई जानकारी पनि भएको न्यौपानेले बताए ।

वडाध्यक्ष यम कुमार पुनले हाल बनको जग्गामा रहेको स्वास्थ्य चौकिमा थप संरचना बन्न नसकेको जानकारी दिए ।

तर स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाह राम्रोसित भइरहेको बताउदै स्वास्थ्यचौकीका लागि आवश्यक जग्गा तथा भवनका लागि पहल भईरहेको पनि जानकारी दिए ।

स्वास्थ्यचौकीको अनुगमनका लागि हेड नेटवर्कका सल्यान संयोजक तोरण बुढाथोकी, हरप्लेस सल्यानका संयोजक तथा गै.स.स. महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<