प्रविधि र विकासले अल्छि बन्दै मानिस

मानिसहरु प्रविधिका कारण विलासी बन्दै गएका छन् । काम गर्नका लागि विभिन्न प्रकारका प्रविधि र मेशिनहरु भित्रीएका कारण दुख नगर्दा पनि जीवन धान्न सक्ने भएका छन् । खेत खन्नेदेखि, धान गहु मिर्ने सम्मका मेसिनहरु भित्रिन थालेपछि मानिसहरु शारीरिक परिश्रम गर्नुपर्ने कामबाट मुक्त बन्दै गएका छन् ।

कुनै समय गाउँमा चर्पी समेत नहुदा चर्पीको लागि खाली जंगल खोज्दै घरदेखि निकै पर पुग्नुपर्ने अवस्था अहिले छैन । सकेसम्म घरमै गाँसिएको र नभए घरदेखि नजिकैको स्थानमा चर्पि बनाएका छन् । कुनै समय घण्टौं हिडेर यात्रा गर्नुपर्ने ठाउँहरुमा अहिले सजिलै सवारी साधनबाट यात्रा गर्न सक्ने अवस्था छ । गाउँका कुना कन्दरासम्म सवारी साधन छिर्ने बाटाहरु बनेका छन् । बाटो राम्रो नहुदा नहुदै पनि मानिसहरु सवारी साधनबाटै यात्रा गर्न चाहन्छन् ।

मानिसहरु यतिसम्म अल्छि भएका छन् कि गाउँको चोकमा रहेको मन्दिरसम्म पुग्न मन गर्दैनन् । बरु घरमै मन्दिर बनाएका छन् र पनि मन्दिरमा दियो बाल्न अल्छि गर्छन् । घर आँगनको मन्दिरमा समेत चारैतिर झार उम्रिएर हेर्नलायक हुदैन र पनि त्यतातिर ध्यान गएको देखिदैन । आफ्नै बेडमा चिया नास्ता पुग्नुपर्ने अपेक्षा अहिलेका मानिसहरुको रहेको देखिन्छ । करेसाबारीमा तरकारी रोप्न पनि अल्छि गर्ने तर नजिकको पशल पुगेर पोलिथिनमा एक किलो तरकारी किनेर ल्याउदा आफूलाई गर्विलो ठान्नेहरु धेरै छन् । बायोग्याँस र गोबरग्याँस जस्तो प्रविधिलाई लत्याएर अहिले रेडिमेट ग्याँस सिलिन्डर ल्याउने र सिद्धिएपछि फेरी अर्को ल्याउनेमा आफूलाई महान ठान्न थालेका छन् ।

युवाहरु अहिले कुनै पनि दुख गर्ने कार्यहरु मन पराउदैनन् । दुखै नगरी खाना र कमाउन खोज्ने गरेका कारण कतिपय उद्योगी व्यवशायीले भनेजस्तो कामदार समेत नपाउने अवस्था छ । फेसबुक चलाउदै जागीर पचाउने सोचका युवाहरुका कारण नेपालका उद्योगी व्यवशायहरु अहिले माथि उठ्नै नसक्ने अवस्थामा छन् । बाटो खन्ने डोजर, खेत खन्ने टेक्टर, रुख काट्ने मेशिन, भारी बोक्ने टेक्टर यात्रा गर्ने सवारी साधनबाट र अधिकांश खानेकुरा किनेरै खाने भएका कारण मानिसहरु सुखि र विलासी बन्दै गएका छन् ।

अहिले कितावमा भएको ज्ञान समेत बासी हुन थालेको छ । छिन छिनमा अनलाईन र फेसबुकबाट संसारभरका खवर थाहा पाउन थालेपछि रेडियो सुन्नेहरु समेत घटेका छन् । कतिपयले टिभि समेत हेर्न भूलिसकेका छन् । बरु चर्पि गएपनि मोबाईल नछोड्ने र मोबाईलबाटै धेरै कुराहरु थाहा पाईसकेका हुन्छन् । घरमा भएका एउटै परिवारका सन्तानले चार कुनामा आ आफ्नै मोबाईलमा रमाउने अवस्था आएको छ । मानिसहरु यति धेरै विलासी भएका छन् कि उनीहरु मिल्ने भए खाना खाने र चर्पी जाने काममा पनि अरुकै सहारा लिन्थेहोलान् ।

यसरी आज विशेष गरी प्रविधिकै कारण मानिसहरु विलासी भएका छन् । यसलाई केही हदसम्म राज्यले व्यवस्थापन गर्नैपर्दछ । निश्चित समय देश र जनताका लागि पसिना बगाउनुपर्ने व्यवस्था राज्यले लागु गर्नुपर्दछ । बेलैमा यसबारेमा सोच्न नसक्ने हो भने आज सम्पन्न मुलुकले बेहोरेको समस्या हाम्रो जस्तो गरिब देशले पनि बेहोर्नुपर्ने हुन सक्छ । जहाँ आफ्ना नागरिक विलासी र अल्छि भएको भन्दै बाह्य मुलुकबाट विकास निर्माणका लागि जनशक्ति मगाउने गरिएको छ । अँझ सम्पन्न मुलुकले त जसरी भए पनि व्यवस्थापन गर्न सकेका छन्, तर हाम्रो जस्तो गरिबीले नागरिकहरु पिल्सिएको मुलुकमा त्यसले भयानक समस्या निम्त्याउने निश्चित छ । नीति निर्माता र शासक वर्गले यसबारेमा बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस