प्रचण्डसहित पाँच नेताले अझै दुई दिन प्रधानमन्त्री ओलीलाई कुर्ने पार्टी एकताको पक्षमा छौँ, विभाजनतर्फ जान दिदैनौँ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २५ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षको नेतृत्वमा पार्टी मुख्यालयमा बसेको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीलाई २७ गते सचिवालय बैठक बोलाउने प्रस्ताव गर्ने निर्णय गरेको छ ।

पार्टीभित्रको समस्या समाधानका लागि २७ गते बैठक बोलाउन अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रस्ताव गरेको भएपनि अझै सहमति नजनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

हामीले यसअघि पनि सोमबारम्म बैठक राख्नका लागि माग गरेका थियौँ । तर, बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले सहमति जनाउनुभएको छैन’ उनले भने, मंगलबार हामी बैठक बस्नुअघि पनि अध्यक्ष दाहालले भेटेर कुरा गर्नुभयो । बैठक बस्नुबाहेक अन्य विकल्प छैन । भनेर जानकारी गराउँदा समेत सहमति जनाउनुभएको छैन ।’

‘पाँचजना सदस्यहरुले २२ गते अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लिखित रुपमै सचिवालयको बैठक तत्काल बोलाउन र बस्न अनुरोध गरेका थियौं’, उनले भने, ‘सोमबारसम्म हामीले बैठक बस्ला भन्ने अपेक्षा गरेका थियौँ तर बैठक बसेन, उहाँ (केपी ओली) ले सहमति पनि दिनु भएन ।’

बैठक डाक्ने बारेमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पनि प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर गम्भीरतापूर्वक छलफल गरेको श्रेष्ठले बताए।

‘मंगलबार पनि प्रचण्ड कमरेडले छिटोभन्दा छिटो बैठक बस्नुको विकल्प नरहेको धारणा प्रधामन्त्रीलाई सुनाउनुभयो। आज पनि बैठक बसौं भनेको हो’, उनले भने, ‘बुधबार अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर (संखुवासभा) जाने भन्ने कुरा भएकाले पर्सिएसम्म कुरौँ भन्ने भएको छ । पर्सि २७ गते सचिवालयको बैठक बस्नुपर्छ भनेर अध्यक्ष दाहालले अनुरोध गर्नु भएको छ ।’

श्रेष्ठका अनुसार सोमबारको छलफलमा पनि २७ गते बैठक बस्ने कुरामा प्रधानमन्त्रीले सहमति नजनाएको श्रेष्ठले बताए । ’अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार भोलिको कार्यक्रमपछि बैठक बस्ने भएको छ ।

सोमबार पनि अनौपचारिक बैठक बसेको हो’, उनले भने, ’पर्सिसम्म कुर्छौँ, त्यसपछि हामी उचित निर्णय लिन्छौं । तर पर्सि बैठक राख्न प्रधानमन्त्री तयार हुनुहुनेछ ।’

प्रधानमन्त्री ओली भोलि उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पार्टीका लागि बैठक बस्ने प्रस्ताव गरेको उनले बताए। ‘अध्यक्ष दाहालले आज बालुुवाटार पुगेर उहाँलाई २७ गते बैठक बस्ने सहमति गर्न र आउन अनुरोध गर्नुभएको छ’ उनले भने, हामीलाई विश्वास छ। उहाँ आउनुहुन्छ होला।’

नेताहरु पार्टी एकताको पक्षमा रहेको उनले बताए। ‘हामी सहमतिमा अघि बढ्न चाहान्छौँ। सहमतिबाट पार्टी एकताको रक्षा गर्ने कुरा गरिरहेका छौँ’, उनले भने, ‘पहिलेको दिएको समयमा बैठक नबसेको भएपनि हामीले फेरीपनि धैर्यताका साथ सहमतिमा बैठक बस्ने निर्णय गरेका छौँ।’

कोरोना संकट, पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र कर्णाली विवाद, पर्सा हत्याकाण्ड, रअ प्रमुख सँगको भेटवार्ताको, पार्टीलाई विधि र पद्धतिको कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्नको लागि बैठकको माग गरेको उनले बताए।

‘हामी पार्टीभित्र देखिएका समस्या मिलाएर अघि बढ्छौँ। विभाजनमा जान दिदैनौँ’ उनले भने, ‘पार्टी विभाजनमा जानू भनेको जनता र राष्टियता प्रति घात गर्नु हुन्छ। त्यसैले हामी त्यता तर्फ जाँदैनौ।’

बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सहभागि थिए।

अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा ओली खेमाका ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएनन्। प्रधानमन्त्री ओलीले सहमतिबिनै बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही नै हुने बताएपछि अध्यक्ष दाहालसहितका नेता हच्किएका थिए ।

प्रतिक्रिया दिनुहोस

<