सार्वजनिक यातायात सञ्चालनबारे सरकारको निर्णयले व्यवसायी अन्यौलमा

काठमाडौं, २६ असार ।
सरकारले शुक्रबार देखि छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीहरु अन्यौलमा परेका छन् ।

सरकारले यातायात व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले यातायात व्यवसायी अन्यौलमा परेको बताएका हुन् ।

सिटौलाले व्यवसायीसँग कुनै छलफल र संवाद नगरीकन सरकारले जिल्लाभित्र मात्रै ५० प्रतिशत बढी भाडा लिएर यातायात सञ्चालन गर्न दिने भन्दै गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘हामीले सञ्चार माध्यमबाट थाहा पायौं । हाम्रा साधनहरुका चालक, कर्मचारी कहाँ छन् भन्ने थाहा छैन, साधनहरु कस्तो अवस्थामा छन्, आजको आजै सञ्चालन गर्न सकिने अवस्था छैन, सरकारले तयारीका लागि केही समय दिनु पथ्र्यो,’ उनले भने, ‘यसबारे शुक्रबार दिउँसो १ बजे महासंघको बैठक बसेर आधिकारीक धारणा सार्वजनिक गर्छौ ।’

सार्वजनिक यातायात चढ्ने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको भन्दै सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको बताए ।

‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुमा कोरोनाको संक्रमण छ छैन कसरी भन्न सकिन्छ । निजी सवारी साधन जस्तो हो र ? सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको छ,’ उनले भने ।

यसअघि पनि यातायात व्यवसायीले निजी सवारीलाइ यात्रु बोक्न नदिन सरकारसँग माग समेत गर्दै आएका छन् ।उनीहरुले छिट्टै सार्वजनिक यातायात सञ्चालनका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए । तर, छोटो दूरीका लागि मात्रै यातायात खुल्न दिने सरकारले निर्णय गरेपछि उनीहरुलाइ चित्त बुझेको छैन् ।

प्रतिक्रिया दिनुहोस

<