घरभाडा, बैंकको किस्ता, विद्युत, खानेपानीको महशुलमा छुट गर्न होटल व्यवसायीहरुको माग


सल्यान, २६ असार ।
कोरोना भाइरसको महामारीका बेला भएको लकडाउनले आर्थिक तन्त्रमा धरासयी भएको भन्दै सल्यानका होटल व्यवसायीहरुले विभिन्न महशुलहरुमा छुटको माग गरेका छन् ।

होटल व्यवसायी संघ सल्यानले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाइ ध्यानाकर्षन पत्र पठाउँदै विभिन्न शिर्षकहरुमा सहुलियतको माग राखेको छ ।

घरभाडा, बैंकको ब्याज किस्ता, बिद्युत, खानेपानी, टेलिफोन महशुलमा छुट हुनुपर्ने होटल व्यवसायीहरुको तर्क छ । लकडाउनको बेला व्यापार जिरो प्रतिशत भएकोले यस्ता महशुलहरु तिर्न सक्ने अवस्था नभएको होटल व्यवसायी संघ सल्यानका महासचिव मदन कुमार भण्डारीले बताए ।

लकडाउनले अन्य व्यवसायीहरु भन्दा धेरै असर होटल र गाडी व्यवसायीहरुलाइ परेको होटल व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य बिकास डिसीले बताए । उनले सबैभन्दा धेरै महशुल बैंक र घरभाडामा हुने गरेको भन्दै यसलाइ सहुलियत र परिस्थिति सामान्य भएको बेला पछि तिर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।

होटल व्यवसायी संघको केन्द्रीय निर्णय अनुसार बिहीबार प्रत्येक जिल्ला प्रशासनबाट नेपाल सरकारलाइ सहुलियतको माग गर्दै व्यवसायीहरुले पत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

<