जागिरसंगै कलाकारीताका आफ्ना अनुभव यसरी व्यक्त गरे, कलाकार अधिकारीले

सल्यान जिल्ला साविक पिपलनेटा गा.वि.स. र हालको बागचौर नगरपालिका वडा नं. १० दारिमबोटमा बुबा भिमलाल अधिकारी र आमा खुमा अधिकारीको जेठो छोराको रुपमा २०२० साल जेष्ठ १२  गते जन्मेका काँशीराज अधिकारी कला तथा साहित्यको क्षेत्रमा परिचित हुनुहुन्छ । सल्यान जिल्लाको पुराना कलाकारको रुपमा चिनिदै आउनुभएका उहाँ हाल शारदा नगरपालिका वडा नं. १ श्रीनगरमा बस्दै आउनुभएको छ । उहाँले लामो समयदेखि शिक्षण पेशा र श्रोत व्यक्ति समेतको जिम्मेवारी संगसंगै गीत, संगीत, साहित्य, कलाकारीता क्षेत्रमा योगदान गर्दै आउनुभएको छ । कुमाख राष्ट्रिय दैनिकमा विभिन्न क्षेत्रका अनुभवी र जानकार व्यक्तित्वहरुसंग कुराकानी गर्ने क्रममा यस अंकमा हामीले उहाँसंग कुराकानी गर्न गइरहेका छौं ।

 

 

  • अहिले के मा व्यस्त हुनुहुन्छ ?

म अहिले गीत, संगीत र साधनातिरै व्यस्त छु । फुर्सदमा कविताहरु पनि लेख्छु ।

  • तपाई त लामो समय शिक्षण पेशा संगसंगै श्रोत व्यक्तिको रुपमा समेत काम गर्दै आउनुभएको छ, कसरी समयको व्यवस्थापन गर्दै आउनुभएको छ ?

 

हो म लामो समय शिक्षण पेशामै थिए, त्यसपछि श्रोतव्यक्तिको रुपमा पनि लामै समय काम गरे । तर पनि फुर्सद्को समयमा मैंले यसलाई निरन्तरता दिदै आएको छु । अहिले पनि फुर्सदमा  र विशेष गरी रात्रीको समय ९ बजेदेखि ११ बजेसम्म मैंले गीत, संगीत या कविताको बारेमा चिन्तन मनन गरिरहेको हुन्छु । यसरी समयलाई सदुपयोग गर्दै आएको छु ।

  • मान्छे कसै न कसैको प्रेरणाबाटै यस प्रकारका काममा लागेको हुन्छ, तपाइले यसरी गीत, संगीत, साहित्य र कलाकारीता जस्तो क्षेत्रमा लाग्न कसबाट प्रेरणा पाउनुभएको हो ?

मेरो यो क्षेत्र विद्यार्थी कालदेखिकै रुचिको विषय हो । मान्छेका आ–आफ्नै ईच्छा वा रुचिहरु हुन्छन् । मलाई सानै उमेरदेखि यतातिर रुचि बढेको हो । त्यसमा पनि जुन मैैंले छन्दमा कविता लेख्न मन पराउँछु, यो चाही राष्ट्रकवि माधव प्रसाद घिमिरेका कविताहरु पढ्दै जाँदा र यसप्रति रुचि बढ्दै जाँदा थप हौसला मिलेको हो । यसरी छन्दवद्ध कविता लेख्नका लागि मलाई उत्प्रेरणा मिलेको उहाँबाटै हो ।

 

  • तपाईको गीत संगीतको यात्रामा अहिलेसम्म के–कति रेकर्ड भए र बजारमा के–कति गईराखेका छन् ?

जब मैंले ४६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरे, त्यसपछि विभिन्न समयमा मेरा ३२ वटा गीतहरु रेकर्ड भए । तीमध्ये ३२ वटै गीतहरु रेडियो नेपालबाट प्रसारण भए ।

 

  • पहिलो पटक रेडियो नेपालबाट प्रसारण गरिएको गीत याद छ होला ? छ भने  बताईदिनुस् त्यसबेलाको गीत कस्तो थियो ?

मलाई रेडर्ड गरिएका सवै गीतहरु याद छ, त्यसबेलाको गीत चाँही यस्तो थियो । जुन तामाङ सेलोको रुपमा चिनिन्छ ।
‘हिमालमा चर्ने चौंरी गाई, बेशिमा कैले झर्दैन,
वर–वर आइजउ हे मैच्याङ, हाम्रो त मैलो सर्दैन ।’
र त्यस्तै अर्को गीत ‘…..अ‍ैलेको सालभरी, गलबन्दीमा रातो धागो…..

 

  • अहिलेसम्म श्रव्य, दृष्यको रुपमै भनौं के कति गीतहरु भिजुअल गरियो र के कति बजारमा आए  ?

अहिलेसम्म १२ वटा गीतहरु भिजुअल समेत गरेको छु । ति मध्ये केहि गीतहरुले राम्रो चर्चा समेत पाए । जस्तोः ‘बटौलीमा माया बस्यो पहिलो नजरैमा, दाङ घोराई हुँदै जाऊ, सल्यान बजारैमा’ भन्ने गीत निकै चर्चित भयो । त्यस्तै अर्को गीत  ‘बातावरण विगार्यो धुलो धुवाँले , तर कोई विग्रीए पोई विदेश हुनाले, कोई विग्रीए रक्सी जुवाले’ भन्ने गीतले पनि राम्रो चर्चा पायो ।

 

  • गीतहरु रेकर्ड गर्दा भिजुअल गर्दा केहि आर्थिक अवस्थाले पनि साथ दिनुपर्छ, हुन त तपाई एउटा पेशामै पनि भएकोले त्यति कठिनाई त भएन होला, तर समग्रमा यस क्षेत्रमा कति जति खर्च गर्नुभयो ?

 

गीतहरु रेकर्ड गर्दा, भिजुअल गर्दा धेरै खर्च हुन्छ, तर आफ्नो भित्रैदेखि रुचिको विषयमा काम गर्दा खर्च गरिएको पनि गुमेको महशुस हुदैन । एउटा भिजुअल गर्दा एक लाख साठी हजार सम्म खर्च गरेको छु । सवैमा त्यति नै खर्च नभए पनि खर्च त गर्नेपर्छ । तर पछिल्लो समयमा मैंले गीतहरु रच्ने र अरुले तयार गर्दै गरेको गीतहरुमा पनि स्वर दिने गरेको छु । लगानीकर्ता अरु नै पनि भेटिन थालेका छन् । त्यसरी अगाडि बढ्ने सोचमा छु ।

 

  • अहिलेको नयाँ पुस्ताको रुचि अलि फरक देखिन्छ, भावुक गीतहरु भन्दा पनि तडक भडक र उत्तेजित पोशाक, उत्तेजीत गीतहरु र त्यहि प्रकारको कलाकारको प्रस्तुतिलाई बढि मन पराएको देखिन्छ, यसमा तपाईको भनाइ के छ ?

 

यो कलियुग हो, कलियुगमा यस्तै हुन्छ, मान्छेहरु भावुक बन्न छोडेका छन्, गहिरो चिन्तन मनन् गर्न छोडेका छन् । राम्रो गीत संगीतमा भन्दा पनि छोटो पोशाक र पहिरनमा रमाएका छन् । उत्तेजित गीत र प्रस्तुतिमा हुटिङ गर्दै रमाउछन् तर म यो उपयुक्त हो भन्ने ठान्दिन  । ८० प्रतिशत यस्तैमा रमाए पनि २० प्रतिशत मान्छेहरुले शब्द, भाव र गीतले दिन खोजेको सन्देशतिर पनि ध्यान दिएका हुन्छन् । हो तिनै २० प्रतिशतले नै ठिक गरेको मलाई महशुस हुन्छ । हुटिङ र भिडलाई मात्रै महत्व दिनुपर्छ भन्ने मलाई लाग्दैन ।

 

  • यसबाट आम्दानी कत्तिको हुन्छ ? र यसबाटै आफ्नो जीविका चलाउन सकिन्छ कि सकिदैन जस्तो लाग्छ ?

 

आम्दानीको हिसाबले हेर्दा त्यति सन्तोषजनक छैन । लाखौंलाख श्रोता र दर्शकले मन पराईदियमा मात्रै लगानी उठ्छ, नत्र भने लगानी उठाउनै गाह्रो हुन्छ । तर पनि मान्छेको आफ्नो प्रतिभा, आफ्नो रचनालाई जतिसक्दो सवैले हेरुन्, सुनुन् भन्ने चाहाना सवैको हुन्छ । आम्दानीको हिसावले सन्तोषजनक नभए पनि आत्मसन्तुष्टिका लागि यो क्षेत्र निकै महत्वपूर्ण छ । यसबाटै मात्र केही सीमित संख्याका कलाकारहरु टिकेका छन् । सवै सवैले यसबाट आएको आम्दानीले मात्रै टिक्न गाह्रो छ ।

 

  • कहिलेकाँही तपाईका छन्दवद्ध कविताहरु पनि देख्न सकिन्छ । कविता लेखनको अभ्यास कहिलेदेखि गर्नुभएको हो ?

 

हो, म कविता पनि लेख्छु । मैंले विद्यार्थी जीवनदेखि नै लेख्दै आएको हु । विशेष गरी छन्दवादी कवि राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताहरुबाटै प्रभावित भएर लेख्न थालेको हु । मसंग अहिले पनि १६ वटा कविता आफ्नो डायरीमा छन् । तिमध्ये कोहि प्रकाशन भएका छन् भने कोही प्रकाशन हुने तयारीमा छन् । शारदा, कुपिण्डे दह लगायतका कविता प्रकाशन भैसकेका छन् ।

 

  • अबका भावि योजनाहरु के बनाउनुभएको छ ?

 

म अब पनि गीत संगीत, साहित्य यस्तै क्षेत्रमा नै लाग्नेछु । विभिन्न किसमका रचनाहरु रचेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोचमा छु । आफूले नै लगानी गरेर भन्दा पनि लगानीकर्ताहरु जुटेको अवस्थामा आफ्नो स्वर दिने या प्रकाशन प्रसारण गर्ने सोचमा छु ।

 

  • अन्तमा तपाईले केही भन्नुपर्ने छ कि ?

मैंले भन्नुपर्ने कुरा के छ भने मुलकमा लोकतन्त्र आइसकेपछि, मुलुक संघीय संरचनामा गइसकेपछि सबैका लागि राम्रो हुन्छ, सबैले आफ्नो क्षमता अनुसारको काम पाउने र निर्धक्कसंग सबै मान्छेहरुले बोल्न पाउने, आफ्नो कुरा राख्न पाउने, समान योग्यता र क्षमताका व्यक्तिहरुको समान हैसियत हुनुपर्ने व्यवस्था हुन्छ भन्ने सोच थियो  तर आज त्यस प्रकारको अवस्था पाउन सकिएको छैन, यसमा दुख लागेको छ । कतिपय स्थानीय सरकारले पनि सहि न्याय गरेको जस्तो लाग्दैन । समान हैसियतका, समान योग्यताक्षमताका र समान प्रतिभा भएकाहरुलाई एकै खालको व्यवहार हुनुपर्नेमा वा सम्मानजनक जिम्मेवारी दिनुपर्नेमा त्यसो भएको छैन । आफ्नो मान्छे, आफ्नो पार्टी भन्ने र चाकडी गर्नेहरुलाई नै प्राथमिकता दिने गरिएको छ । यसमा चित्त बुझेको छैन ।

Democracy should not be despotism, But Democracy must be offers only hope for mankinds for freedom and justice.

 

अर्कोतिर कला साहित्य लगायतका विविध क्षेत्रमा काम गर्दै आएका प्रतिभाहरुलाई समेत जिल्ला तथा स्थानीय तहहरुले पहिचान गर्न सकेका छैनन् । कला संगीत र साहित्य क्षेत्रमा सहि पहिचान, सहि मुल्यांकन गरेर उचित सम्मान गर्न सकेको छैन । कलाकारीता क्षेत्रमा समेत आफ्नो, अर्काको, पक्ष विपक्ष भन्ने व्यवहार गर्नु राम्रो होईन । जिम्मेवार व्यक्ति र निकायले सवैलाई सम्मान गर्न सक्नुपर्छ । सवैको कदर गर्न सक्नुपर्छ । सहि मुल्यांकन हुनुपर्छ । यहि नै भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

<