सुर्खेतमा कृषिक्षेत्र सुधारका लागि साढे दश करोड लगानी

सुर्खेत, २६ पुस ।

कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा एकै पटक साढे दश करोड लगानी गरिएको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि साढे दश करोडभन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले दश करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।

कृषि उत्पादन बढाउन प्रदेश सरकारले सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ४४ वटा सिँचाइ कुलो निर्माण गर्न थालेको छ । सांसद विकास कार्यक्रम अन्र्तगत सिँचाइ कुलो निर्माण गर्न लागिएको हो । कुलो निर्माणका लागि सबै स्थानीय तहमा योजना छनौट भइसकेका छन् । सिँचाइ कुलो बनेपछि कृषि उत्पादनमा सुधार आउने र उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै विऊको उत्पादनका लागि पनि ठूलो रकम लगानी गरिएको छ । निर्देशनालयका चित्रबहादुर रोकायका अनुसार केराउ, रायो जस्ता तरकारीको बीउ उत्पादनका लागि २५ लाख, धान, मकै, गहुँ, कोदो, फापर, आलु तथा तरकारीको विउ उत्पादनको लागि ५५ लाख बजेट लगानी हुनेछ ।

त्यस्तै कर्णालीको ब्राण्ड निर्माणदेखि प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण गर्न दश लाख ५० हजार, अर्गानिक मिसन कार्यक्रमका लागि ८५ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा मात्रै तीन करोड ८६ लाख ५० हजार रुपैयाँ लगानी गरिने भएको हो ।

कृषि व्यवसाय प्रबद्र्धदनका ३५ वटा कार्यक्रमका लागि ६५ लाख, १० वटा लक्षित बर्ग विशेष कार्यक्रमका लागि एक करोड, तीन वटा व्यवसायिक बर्षे फलफूल नर्सरी श्रोत केन्द्र स्थापनका तीन वटा कार्यक्रमका लागि २१ लाख लगानी गर्न लागिएको छ ।

त्यस्तै ५० प्रतिशत सहुलियत व्यवसायिक तरकारी खेतीका ४३ वटा ठूला ग्रिन÷नेट हाउस निर्माणका लागि ३० लाख, च्याउको विउ उत्पादनका लागि मेसिन खरिद तथा टनेल निर्माणका लाग १५ लाख र अनुदानमा हाते ट्याक्टर÷पावर टेलर÷थ्रेसर मेसिन खरिदका लागि ३० लाख लगानी गरिने लागिएको निर्देशनालयले जनाएको छ ।

कृषि पर्यटकीय क्षेत्र निर्माण तथा पुष्पखेती सुदृढिकरणका लागि पाँच लाख, सहकारी नमूना गाउँ विकास कार्यक्रमका लागि १० लाख, गोठ तथा प्राङ्गारिक मलको स्रोत २० लाख, चक्लाबन्दी खेती प्रोत्साहन लागि ५० लाख, कृषिमा आधारिकत साना उद्योग स्थापना तथा सञ्चालनका लागि १० लाख र शितभण्डार तथा चिस्यान केन्द्र निर्माणका लागि ४८ लाख लगानी गरिने भएको छ ।

गरिव किसान सरकार हातेमोले कार्यक्रमका लागि १० लाख, मुख्य तथा सहायकरोड करिडोर तरकारी प्रबद्र्धनका लागि १० लाख, कृषि वाली वस्तुको प्रबद्र्धनका लागि १५ लाख, नमूना फलफूल पकेट क्षेत्र विकास कार्यक्रमका लागि २० लाख, कागती, सुन्तला, जुनार, किबी, ओखर, चिची, अम्बा जस्ता फलफूल खेति प्रबद्र्धनका लागि २८ लाख, दलित तथा अति विपन्न बर्ग लक्षित विशेष कार्यक्रमका लागि एक करोड, कृषि शिक्षा अध्ययन गरेका, विदेशबाट फर्केका, महिला तथा अपाङहरुलाई स्वरोजगार बनाउनका लागि ६५ लाख र अर्गानिक मिसन कार्यक्रमका लागि ९७ करोड लगानी गरिने निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेखित आयोजनाको लागि अधिकांश आयोजनाहरुले काम सुरु भइसकेको छ ।

 

पकेट क्षेत्र बन्दै २२ वटा गाउँ

कृषि क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विभिन्न २२ वटा गाउँलाई कृषि पकेट क्षेत्र बनाउन थालेको छ । जसका लागि तीन करोढ ८१ लाख ५० हजार रुपैयाँ खर्चिन लागिएको हो ।

जहाँ प्याजदेखि मौरीपालन जस्ता कार्यक्रमहरु गरिने छ । कृषि विकास निर्देशनालयका अनुसार सुखेएतको भेरीगंगा–४ हर्रे, गुर्भाकोटको मेहलकुना, पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर वडा नं. ३ र ९ लाई तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गरिने छ । त्यस्तै छिन्चुलाई आलु उत्पादन क्षेत्र र बराहतालको तेलपानी क्षेत्रलाई आलुको विऊ उत्पादन क्षेत्रमा पकेट क्षेत्र बनाइने छ । लेककेशीको मंगले, अरुन्टुडा, गुर्भाकोटको मालारानी र सहारे क्षेत्रलाई प्याज उत्पादनका लागि पकेट क्षेत्र बनाइने छ ।

त्यस्तै वीरेन्द्रनगरको वडा नम्बर १२ लाई मौरीपालन क्षेत्र, वडा नं. ३, १०, ११ र १२ लाई च्याउ उत्पादन क्षेत्र, चिङ्गाड र सिम्तालाई मकै उत्पादन क्षेत्र, बराहतालको ओदालताल, चौकुने गाउँपालिकाको वडा नं. ९ र १० लाई बदाम उत्पादन क्षेत्र, भेरीगंगाको सत्तरी र काल्पानीलाई केरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । सिम्ता गाउँपालिकाको वडा नं. ५, ७ र ९, गुर्भाकोट नगरपालिकाको वडा नं. ९ लाई धान उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ ।

सिम्ता गाउँपालिलाई अदुवा तथा बेसार उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ । उल्लेखित क्षेत्रका विशेष पकेट क्षेत्रका रुपमा विकास गर्न टनेल निर्माण, सिँचाइ कुलो, उन्नत बीउ वितरण, प्राविधिक सल्लाह, चक्लाबन्दी र कृषक सामग्री वितरणका कार्यक्रम हुनेछन् ।

कहाँ बन्दैछन् ४४ वटा सिँचाइ कुलो ?

कर्णाली प्रदेश सरकारले सुर्खेतमा निर्माण हुने ४४ वटा सिँचाइ कुलो निर्माण हुने क्षेत्र छनौट गरेको छ । जसमध्ये बराहताल गाउँपालिकामा वडा नं. १ को बिचकुलो, वडा नं. ३ को ढल्केआम, वडा नं. ५ को सानीचौर, वडा नं. ६ को माझकुलो र बिउरेनी, वडा नं. ८ को रातामोटे सिँचाइ कुलो निर्माण गरिने छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ को मुलपानीमा डिपबोरिङबाट सिँचाइ र कटकुवामा कृषि पर्यटकीय क्षेत्र निर्माण तथा पुष्पखेती सुदृद्धिकरण, वडा नं. ९ को कालीमाटी घोक्रेनी मिलनचौक, वडा नं. १२ को चनौटे सिँचाइ र वडा नं. १३ को आफर गाउँमा सिँचाइ कुलो निर्माण गरिने छ ।

जिल्लाकै चौकुने गाउँपालिकामा वडा नं. ४ को सिमखोलादेखि कासेगाउँ सिँचाइ र डङगखोला कराले सिँचाइ, वडा नं. ५ मा डिपबोरिङबाट मायाताल क्षेत्रमा सिंँचाइ, वडा नं. ६ को जुम्लाहामुल टाडखेति सिँचाइ, वडा नं. ८ का लामडम्मो कोलगाउँ र बुढीपडे पत्रिस पुतली सिँचाइ कुलो निर्माणका गरिने छ । चौकुने गाउँपालिकामा ३० लाख बराबरका कृषि बजार संरचना निर्माण गरिनेछ ।

सिम्ता गाउँपालिकाको वडा नं. १ मा लुकई रोगारय सिँचाइ कुलो निर्माण गरिने छ । सिम्तामै ३० लाख बराबरको कृषि औजार वितरण गरिने छ । भेरीगंगा नगरपालिकाभित्र वडा नं. २ को लेखपराजुल सिँचाइ कुलो, वडा ३ मा मालुलोसे स्वामीगैरा गाइने टोली सिँचाइ कुलो, वडा नं. ८ मा तल्लो झिग्नी मुलपानी सिँचाइ कुलो र वडा नं. ९ को किच शान्तिपुर सिँचाइ कुलो निर्माण गरिने छ ।

पञ्चपुरी नगरपालिकाको वडा नं. ३ को तल्लो लामिदमार लिफ्ट सिँचाइ, वडा नं. ४ को ठूल्धारा सिँचाइ, वडा नं. ८ को दुलालथाई सिँचाइ र वडा नं. ९ को सान्नेमुहान रातामाटे सिँचाइ कुलो बनाईने छ ।

गुर्भाकोटमा भने वडा नं. ४ को धोद्रेखोला हटारेवास नागडोर, वडा नं. ६ को गोच्छेखोला बढाखोली लिफ्ट सिँचाइ, वडा नं. ९ को चिसापानी र वडा नं. १३ को बेतनीखोला सेराघारी सिँचाइ कुलो निर्माण गरिनेछ ।

लेकवेशी नगरपालिकामाको वडा नं. ३ को सहिद सिंहवीर खारपानी सिँचाइ कुलो, वडा नं. ५ को निगालगैरा खानटाकुरा र दमारगाउँ सिँचाइ, वडा नं. ९ को चौरासे डिपबोरिङ र वडा नं. १० को भूमिगत सिँचाइ आयोजना सञ्चालन गरिने छ । चिङ्गाड गाउँपालिकामा वडा नं. १ को ठूलापोखरा पाथिपरे, वडा नं. २ को काठेपोखारा पारीखेल र वडा नं. ५ को ध्यापेबगर कृषि सिँचाइ आयोजना सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

<