सम्पादकीय : महामारी समयमा पनि जनजीवन सहज बनायो प्रविधिले

संसारमा प्रविधिको विकास तिब्र गतिमा भईरहेको छ ।

मानिसहरु संकटमा हुदा पनि जनजीवन लाई सहज बनाएको अवस्था छ । कोरोना महामारीले लाखौं मानिसहरु मरिरहेको समयमा पनि मानिसहरु फेसबुक्, ट्वीट, अनलाइन, टिकटक, यूूटिब लगायतका प्रविधिमा रमाए ।

एक त मानिसहरु लामो समय व्यवशाय बन्द गर्नुपर्ने अवस्थामा रहे, त्यसैमा पनि समय विताउने माध्यम प्रविधिको विकास नभएको भए कति सास्ती हुुदो हो, हामी कल्पनै गर्न सक्दैनौं । प्रविधिमा त्यति मात्रै पनि छैन, मोवाईल बैंकिङ, अनलाईन शिक्षा, अनलाईन व्यापार, अनलाईन कुराकानी लगायतले मानिसको जीवन धेरै सहज भएको छ ।

प्रविधिमा एकातिर समय व्यतित गर्ने कुराहरु छन् भने अर्कोतिर व्यवशाय, आर्थिक गतिविधि र दैंनिक आवश्यकताका वस्तुु परिपूर्तिका कुराहरु छन् । मानिसहरु प्रविधिसित अभ्यस्त भैसकेका छन् । अहिलेको अवस्थामा प्रविधि निर्विकल्प जस्तै बनेको छ । किसान, मजदुर, विद्यार्थी, शिक्षकदेखि वकिल, नेता, समाजसेवी फराकिलो दायरा बोकेको यो क्षेत्रलाई सशक्त र प्रभावकारी ढंगले अघि बढाउन जरुरी छ ।

कोभिडले विश्व अर्थतन्त्रलाई अप्ठ्यारो स्थितिमा पु¥याएको छ । कोभिड निर्मूल भएपछि पनि यो प्रविधिको विकासलाई अनिवार्य आवश्यकता बनाएको छ । यसरी ई–कमर्स, अनलाइन सपिङ, डिजिटल बैंकिङ र ई–लर्निङलगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलाप नेपालका सहरी क्षेत्रमा मात्र होइन, धेरै स्थानमा आमजीवनको अंग बनेका छन् ।

समयको बचत, थोरै जनशक्तिमा काम सम्पन्न तथा छिटो काम यसका सकारात्मक पाटा हुन् । झन्डै एक दशकदेखि प्रचलनमा आएको भए पनि यो प्रविधिको विकास कोभिडको अवधिमा उत्साहप्रद रूपमा अघि बढेको छ । अहिले सरकारी कार्यालयको ७० प्रतिशत काम डिजिटल प्रविधिबाट भइरहेको छ ।

सरकारले पछिल्लोपटक डिजिटल नेपालको खाका तयार गरेर ई–गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याएको छ । उक्त डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी आठ प्रमुख क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको छ ।

यसका साथै यी आठ क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहल पहिचान गरिएको छ । मन्त्रिपरिषद् बैठक पेपरलेस भएको छ । भर्चुअल माध्यमबाट बैठक, सभा, सेमिनार तथा गोष्ठी सञ्चालन हुन थालेको छ । यसले दुनियाँलाई डिजिटल युगमा धकेलेको स्पष्ट हुन्छ ।

विगतमा विदेशबाट रेमिट्यान्स पठाउनु मात्रै डिजिटल प्रयोग हो भन्ने सोचमा सीमित नागरिक अहिले भान्सामा चाहिने तरकारी खरिददेखि ठूला–ठूला कारोबारसमेत यही प्रविधिबाट गरिरहेका छन् । निश्चय नै यो सकारात्मक पक्ष हो । अतः कोरोना महामारी जस्तो समयमा पनि प्रविधिले मानिसको दिनचर्या सजिलो बनाएको छ । मानिसहरु प्रविधिमैत्री बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

<