सिन्धुपाल्चोकमा बाढीले दर्जनौं घर बगायो, ३ जनाको शव फेला, १६ जना बेपत्ता

सिन्धुपाल्चोक, २५ असार ।
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनौं घर बगाएको छ । बाढीमा परेर अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने अरु १६ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो । बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ । बिहीबार राति आएको बाढीले बस्ती नै डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ। अर्का एक जनाको ठेगाना खुलेको छैन्। १६ जना बेपत्ता भएका छन् । सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बाढीले ११ घरमा क्षति पुगेको छ भने भोटेकोशी किनार वारीपारी रहेका झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेका छन् । ठाडो खोलाले ठूल्ठूला ढुंगा र माटो बगाएर ल्याएर घरहरुमा क्षति पु¥याएको हो ।

यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ ध्यालेमा बुलकुटे ठाडो खोलाले दुई वटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् । थाकसेलमा पनि बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस

<