सल्यानमा पनि मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिवाना, अटेरी गर्नेलाई ६ महिना जेल


सल्यान, २५ असार ।
अबदेखि मास्क नलगाएर घर बाहिर निस्किएमा एक सय रुपैयाँ जरिवाना र पटकपटक अटेरी गर्नेलाइ ६ महिना जेलको सजाय भोग्नुपर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आवश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोगका लागि यस्तो नियम सहित गृहमन्त्रालयले प्रत्येक जिल्लाहरुमा यस्तो सर्कुलर गरेको हो ।

साथै अति आवश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्याले जनाएको छ ।

बारबार कानुन उलंघन गरेर मास्क नलगाएको पाइएमा अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०६ वमोजिम ६ महिना सम्म कैद वा ५ हजार रुपैँया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

सल्यानमा हिजो मास्क नलगाउनेलाइ प्रहरी सम्झाएको थियो भने आजदेखि मास्क नलगाउनेलाइ कारबाहीको प्रकृया थालिने प्रहरीको भनाइ छ । मास्क लगाउन भन्दै सल्यान प्रहरीले स्थानीय रेडियो, अनलाइन तथा पत्रपत्रिकाबाट पनि सुचना समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<