स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ

खुल्ला अर्थतन्त्र र विश्वव्यापिकरणका कारण आज हामी नेपालीहरु धेरै कुराले मर्कामा परेका छौं । अहिले सवैका लागि अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने कार्यमा पनि बाधा आएको छ । छिमेकी देशहरु विभिन्न औजार, नयाँ नयाँ प्रविधि र दक्ष जनशक्तिका कारण खाद्यान्न, तरकारी र विभन्न प्रकारको उपभोग्य बस्तुको प्रशस्त उत्पादन भईरहेको छ । त्यस प्रकारको उत्पादन क्षमता नेपालीहरुमा हुन सकेको छैन । यस्तो अवस्थामा राज्यले नै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

नेपालमा उत्पादन भएको उपभोग्य बस्तु कम गुणस्तरको भएपनि स्वीकार्नुपर्छ । यदि साँच्चीकै खुल्ला र विश्वव्यापि प्रतिश्पर्धामा नेपाल गयो भने ठूला र शक्तिशाली राष्ट्रले नेपाल जस्ता साना देशलाई कुनै पनि कुरामा अगाडि बढ्न दिदैनन् । अहिले बजारमा नेपाली उत्पादनलाई भारतीय उत्पादनले विस्तापित गर्न खोज्दैछ । लसुन, प्याज, टमाटर, आलु जस्ता स साना कुराहरुमा समेत नेपाल आत्मनिर्भर देखिदैन । वर्षेनी ठूलो रकम यीनै बस्तुहरु खरिदमा पनि गएको छ ।

त्यति मात्रै होइन हाम्रो देश मासु, अण्डा देखि मसलाजन्य उत्पादनमा पनि आत्मनिर्भर बन्न सकेको छैन । यसको एउटा कारण अरुसित प्रतिश्पर्धा गर्न नेपालले सकेको छैन । यसो भइदिनाले नेपालीहरु आफ्ना खेतबारी बाँझै राखेर अरुको काम गर्न बाद्य छन् । उत्पादित वस्तु महत्वहीन भईदिनाले या बजारभाउँ नपाउनले कृषकहरु निराश हुनुपर्ने अवस्था छ । आज आफ्नै बारीमा फल्ने तरकारी तराईबाट या छिमेकी देशबाट पहाडि क्षेत्रमा भित्रीन थालेको छ ।

राज्यले कृषिलाई प्राथमिकता दिएको भनिएता पनि उत्पादनयोग्य जमिन जति सवै घरघडेरीले भरिन थालेका छन् । वर्षदिन खेतीपातीको काम गरेर पनि सधैं रित्तो खल्ती हुने भएका कारण कृषि पेशा धेरैको लागि निल्नु न ओकल्नुको पेशा बनेको छ । छोरोछोरीको पढाईखर्च, चाडपर्वखर्च, बिहे खर्च लगायत विभिन्न कामका लागि अहिले पनि शहर, छिमेकी देश या विदेश नै जानुपर्ने बाद्यताकै कारण आज मानिसहरु जन्मभूमिप्रति पनि विकर्षण हुन थालेका छन् । त्यसकै परिणामस्वरुम हिमालबाट पहाड, पहाडबाट तराई र गाउँबाट शहर झर्ने क्रम बढ्दो छ । कुरा खाद्यान्न र तरकारीको मात्रै होईन नुनदेखि सुन सम्म र केरादेखि अनारसम्म पनि बाहिरैको भर पर्नुपरेको छ । स्याउ, अंगुर लगायत विभिन्न प्रकारका फलफूल बाहिरैबाट भित्रिएका छन् ।

राज्यले कृषि र पशुपालनलाई प्राथमिकता दिने हो भने कृषक  र पशुपालकको लागि विमाको सुविधा राज्यले नै गरिदिनुपर्र्छ । एकातिर कृषक र पशुपालकको जीवनबिमा र अर्कोतिर कृषि, फलफुल या पशुहरु समेतको विमा बनाउन राज्यले सहयोग गर्नुपर्छ । खेतीयोग्य जमिन अलिकति पनि मास्नुहुदैन या मास्न दिनुहुदैन ।  नेपालका हजारौं तालतलैया, खोलनाला र नदीहरुबाट सिंचाई सुविधा लिन जरुरी छ या खाली जमिन भएमा सवै खोला किनारहरुमा खेती गरिनुपर्दछ । तर राज्यले उल्लेखित विषयहरुमा अहिलेजसरी नै पुरै मौन धारण ग््रयो स्थानीय उद्योगधन्दाहरु लोप हुनेछन् । खाद्यान्न, लत्ताकपडा लगायत सवै कुरामा नेपालीहरु परनिर्भर हुनुपर्नेछ । स्वदेशमा     रोजगारीहरु थपिने छैनन् ।

प्रतिक्रिया दिनुहोस

<