म्याग्दी, २७ चैत । कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनको समयमा म्याग्दी र बागलुङको सीमानामा ओहोरदोहोर गरे ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

सो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए । यस्तै बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बसाउनुका साथै साथै ५ हजार जरिवाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताए ।

बागलुङ तर्फबाट विभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

npkhabar24.com