अन्तराष्ट्रिय महिला दिवस्ले उब्जाएका जिज्ञासा र प्रश्नहरु

गत शुक्रबार परेको यस वर्षको अन्तराष्ट्रिय महिला दिवसले केहि जिज्ञासा र प्रश्न उब्जाएको छ । आधा आकास र आधा धर्ति नै ढाकेका महिलाहरुको अधिकारका विषयमा विभिन्न नीति नियम बनेका छन्, कानून बनेका छन्, संविधान बनेका छन् र पनि व्यवहारिक रुपमा महिलाहरु पुरुष सरह अगाडि नआईरहेको अवस्था छ । जसबारेमा उठेका जिज्ञासा  र प्रश्नहरुबारे केहि उदारणसहित स्पष्ट बुझ्न सकिन्छ ।

साँस्कृतिक कार्यक्रम भनेपछि हुरुक्कै

साँस्कृतिक कार्यक्रम भनेपछि महिलाहरुको कल्पनै नगरेको सहभागिता देखिन्छ । गीत, नाचगान, महोत्सव, मेलापर्वमा पुरुषहरुभन्दा महिलाहरु अगाडि छन् । यसले गर्दा ईच्छाशक्ति नै पहिलो कुरा ठहर्छ ।

बैठक, भाषण वा मन्तव्यमा अत्यन्तै न्यून सहभागिताः

महिलाहरु साँस्कृतिक कार्यक्रम विनाका कुनै पनि मञ्च, बैठक, भाषण कार्यक्रम र मन्तब्य राख्ने कार्यक्रममा अपवादबाहेक निकै कम मात्र सहभागी हुने गरेको पाईन्छ वा सक्रिय सहभागिता देखिदैन । यसबाट कतै न कतै पारिवारिक अवरोध या चेतनाको कमी भएको देखिन्छ ।

उनै महिला सवैतिरः

कतिपय महिलाहरु यस्ता छन्, जो कुनै पनि कार्यक्रममा अग्रस्थानमा देखिन्छन् । बैठकमा उनै, कुनै संघस्थाको कार्यक्रममा उनै, कुनै प्रतिनिधिमूलक संस्थाको प्रतिनिधित्वमा उनै, गोष्ठिमा उनै, महिला दिवस र र्यालीमा उनै, राजनैतिक नेतृत्वमा उनै रहनुले सक्षम प्रतिस्पर्धि नहुनुको फाईदा उनैले लिएका छन् । यसबाट के बुझ्न सकिन्छ भने जो सक्षम छन्, उनले अरुलाई सक्षम बनाउने त्यति प्रयत्न गरेको पनि देखिदैन । के अरुलाई सक्षम बनाउने पयत्न गर्न सकिदैन र ? यसमा प्रश्न उब्जीएको छ ।

पारिवारिक अवस्था अनुसार भिन्नताः

हाम्रो परिवार र समाजभित्रको वातावरणले सवैतिर प्रभाव पारेको हुन्छ । जुन परिवारमा महिलाहरुलाई विभिन्न कुराहरुमा अवसर दिइएको हुन्छ, तिनीहरु फराकिलो सोच अनुसार अगाडि बढेका छन् भने जुन परिवारमा केहि बन्धन हुन्छ, त्यस प्रकारको परिवारमा उनीहरु समाजमा खुलेर प्रस्तुत हुन सकिरहेका छैनन् ।

बढि माया, स्वतन्त्रता र विकृतिः

कतिपय परिवारमा आमा छोरी मात्र हुने या छोराहरु साना भई छोरी मान्छेहरुकै निर्णायक भूमिका भएको अवस्थामा त्यहाँ पनि विकृति र विसंगति बढेको अवस्था छ । त्यस्तै छोरा छोरीलाई धेरै नै पुलपुल्याएर राखिएको अवस्थामा उनीहरु गलत आचरणमा फस्ने र समाजको दृष्टिमा हेपिनुपर्ने अवस्थामा आँफै पनि पुग्दछन् । जब एकपटक अरुको नजरमा गिरीसकेको मान्छे माथि उठ्न निकै कठिनाई हुने गर्दछ । स्वतन्त्र  र अधिकार सम्पन्न भएर पनि कतिपय महिलाहरु माथि उठ्न नसक्ने कारण यहि नै हो ।

सौन्दर्यता र विज्ञापन गर्ने वस्तुको रुपमा उपयोगः

महिलाहरुले स्वीकार गरेपनि नगरेपनि आज संसारभरका महिलाहरु सौन्दर्यका सोखिन छन् र जसका कारण नै कुनै न कुनै प्रकारले पुरुषले उपयोग गरेका छन् । अँझ महिलाको शक्ति भनेकै अरुलाई आकर्षित गरेर लाभ लिने रहेको छ । जसबाट पुरुषसमेतले प्रशस्त फाईदा लिईरहेका छन् । आज अधिकांश कार्यालयको सोधपुछ कक्षमा महिला राखिने गरेको छ, अधिकांश ंिसंगारपटार सम्बन्धी पशलहरुमा महिलाहरु नै छन् । आज प्रत्येक विज्ञापनमा महिलाको प्रयोग गरिएको छ । प्रत्येक सञ्चारक्षेत्रमा महिलाको सक्रियता छ । आज अधिकांश होटेलहरुमा महिलाहरु नै छन् । जसले बोलि, बचन, रुप, व्यवहार, खानपान, सरसफाई लगायतका कुराहरुले पुरुषहरुलाई आकर्षित गरेका छन् । त्यहाँ महिलाहरुले पूर्णरुपमा आफ्नो सीप र क्षमताको उपयोग गरेका छन् ।

अतः महिलाहरु सक्षम भएको अवस्थामा अगाडि बढ्न कसैले रोकेको छैन । बरु स्वतन्त्रताको सीमाभित्र बसेर अधिकार खोज्ने हो भने महिलाहरु पुरुषसरह सक्षम हुन सक्छन् । इमान्दार तरिकाले अगाडि बढ्न सक्ने ईच्छाशक्ति पलायो भने पुरुषसरह अगाडि बढ्न कसैले पनि रोक्न सक्ने देखिदैन । यसरी अवसर र सम्भावना हुँदा हुँदै पनि महिलाहरु अगाडि बढ्न नसक्नुका पछाडि पारिवारिक संरचना, विद्यमान सामाजिक अवस्था, राज्यका नीतिनियम र स्वयं महिलाहरुमा हुनुपर्ने सक्रियता एबं जागरुकता लाई विश्लेषण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

<